यी दुई ‘स्टार खेलाडी’ पाए पिएसजी बार्सिलोनालाई नेइमार दिन तयार !

एजेन्सी, असोज ६
स्पेनिस क्लब बार्सिलोना यसै सिजनमा आफ्ना पूर्वस्टार खेलाडी ब्राजिलियन नेइमार फर्काउन प्रयासरत रहेको छ । सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेका नेइमार पनि बार्सिलोना फर्किन तयार छन् ।

तर, बार्सिलोनालाई आफैंले बेचेका विश्वकै महँगा खेलाडी फर्काउन सजिलो छैन । उसलाई अन्य केही समस्यासँगै खेलाडीको महँगो मूल्य पनि टाउको दुखाइको विषय बनेको छ ।

यसअघि बार्सिलोनाले नेइमार फर्काउन १०० मिलियन युरोसहित आफ्ना फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी, क्रोएसियन मिडफिल्डर इभान राकिटिक र फ्रेन्च विंगर उसामान डेम्बेले दिन तयार रहेको रिपोर्ट आएको थियो ।

तर, पिएसजी भने यो अफर मान्ने पक्षमा देखिँदैन । फ्रेन्च मिडिया ‘टेलिफुट’का अनुसार पिएसजीले बार्सिलोनासँग नेइमार साट्न उसका दुईजना खेलाडी माग्ने तयारी गरेको छ ।

जसमा बार्सिलोनाले अघिल्लो जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा अनुबन्ध गरेका ब्राजिलियन फिलिपे कोउटिन्हो र २ वर्षअघि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा आएका उसामान डेम्बेले मागेको छ ।

बार्सिलोनाले कोउटिन्हो र डेम्बेलेका लागि खर्चिएको कूल रकम २६५ युरो मिलियन हो । रिपोर्टअनुसार पिएसजी अन्य खेलाडी र रकमको अफर छाडेर नेइमार दिएर कोउटिन्हो र डेम्बेले भित्र्याउने विकल्पमा तयार देखिएको छ ।

यदि बार्सिलोना पिएसजीको यो सर्त मान्न तयार भयो भने उसले नेइमारलाई आफूले बेचेको मूल्यभन्दा ४३ मिलियन युरो बढी खर्चिनेछ ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०५:२२
Loading...