माल्दिभ्सको लिगमा डेब्यु खेलमै विमलको गोल, टोली जोगियो हारबाट !

काठमाडौं, असार ६
माल्दिभ्सको घरेलु लिगमा नेपाली फरवार्ड विमल घर्तीमगरले डेब्यु खेलमै गरेको गोलबाट उनको टिम टिसी स्पोर्टस् सम्भावित हारबाट बचेको छ । अघिल्लो दिन राति भएको खेलमा विमलले थप समयको अन्तिम समयमा गोल गरेपछि टिसी इगल्स क्लबसँग हारको मुखमा पुगेर जोगिएको हो ।

विमलकै गोलको मदतमा साबिक विजेता टिसीले १–१ को कठिन बराबरी खेलेको हो । यससँगै टिसीले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । यसअघि टिसीले ४–० को फराकिलो जित निकालेको थियो ।

गत राति भएको खेलमा इगल्सका लागि ८२ औं मिनेटमा अलि फसिरले गोल गरेका थिए । उनकै गोलको मदतमा जितनजिक पुगेको इगल्स त्यत्तिबेला स्तब्ध भयो, जतिबेला अन्तिम समयमा विमलले बराबरी गोल गरे । विमलले हेडिङ गोल गरेका थिए । विमल पहिलोपटक यो लिग खेलिरहेका छन् । विमल दुई वर्षका लागि टिसीमा अनुबन्धित भएका हुन् ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०४:३७
Loading...