‘अर्जेन्टिना कोपाको नकआउट चरण नपुगे लाजमर्दो हुनेछ’

एजेन्सी, असार ६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा प्रमुख उपाधि दाबेदार मानिएको लिओनल मेस्सीको टिम अर्जेन्टिना यतिबेला अप्ठेरो अवस्थामा छ । समूह चरणका दुई खेल सकिँदा पनि जितविहीन बनेको उसले एक खेल हारेर एक खेल बराबरी गरेको छ ।

अर्जेन्टिना समूह ‘बी’मा अहिले मात्रै १ अंकका साथ सबैभन्दा पुछारमा छ । उसले अब अन्तिम खेल कतारसँग खेल्दैछ । प्रतियोगिताको नकआउट चरण जान उसलाई कतारसँगको खेल निर्णायक हुनेछ ।

सो खेलमा अर्जेन्टिनाले स्पष्ट जित निकाले र अर्को खेलमा पराग्वे कोलम्बियासँग हारे वा बराबरीमा रोकिए अर्जेन्टिना शीर्ष दुईमै रहेर अर्को चरण जानेछ । तर, अर्जेन्टिनाले जिते पनि पराग्वेले कोलम्बियलाई हराएको खण्डमा भने अर्जेन्टिना उत्कृष्ट दुईबाट मात्रै अर्को चरण जानसक्छ ।

तर, यदि अर्जेन्टिना कतारसँग बराबरीमा रोकियो वा पराजित भए ऊ समूह चरणबाटै आउट हुनेछ । यसअघि अर्जेन्टिनाले पहिलो खेलमा कोलम्बियासँग २–० ले हार्दा दोस्रो खेलमा पराग्वेसँग १–१ को कठिन बराबरी खेलेको थियो ।

आफ्नो टिम कठिन अवस्थामा रहेका बेला अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले मिडियासँग बोल्दै यदि आफूहरू नकआउट चरण नपुगे त्यो निकै लाजमर्दो हुने बताएका छन् । ‘अझै पनि प्रशस्तै सम्भावना छ । तर, हामीले अबको खेल जित्नुपर्छ,’ मेस्सीले भने, ‘हामी यो खेल जित्न तयार छौं ।’

यदि अर्जेन्टिना नकआउट चरण नपुगे त्यो आफूहरूका लागि लज्जापूर्ण नतिजा हुने पनि मेस्सीले बताए । ‘यदि हामी नकआउट चरण पुग्न सकेनौं भने यो निकै लाजमर्दो हुनेछ,’ मेस्सीले भने, ‘हामी त्यस्तो नतिजा चाहँदैनौं ।’

मेस्सीले अन्तिम खेलमा सबै खेलाडी एकताबद्ध भएर खेल्नुपर्ने बताए । ‘अन्तिम खेलमा सबै खेलाडी आत्मविश्वासी भएर खेल्नुपर्छ, हामीले कमजोरी पनि सुधार गर्नुपर्छ,’ उनले थपे ।

अर्जेन्टिनाले अब समूह चरणको अन्तिम खेल सोमबार बिहान कतारसँग खेल्दैछ । कतार प्रतियोगिताको आगन्तुक टोली हो । यदि यो खेल जिते कतार अर्जेन्टिनालाई पछि पार्दै अर्को चरण जानेछ ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०३:४५
Loading...