कोपा अमेरिका : जापान र उरुग्वेको रोमाञ्चक बराबरी

काठमाडौं, असार ६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा उरुग्वे र पाहुना टोली जापानले २–२ को बराबरी खेलेका छन् । आज बिहान भएको समूह ‘सी’को दोस्रो खेलमा यी दुई टिमले २–२ को रोमाञ्चक बराबरी खेलेका हुन् ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा जापानले दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । अर्को चरण जान जापानका लागि यो खेल जित्नैपर्ने दबाब थियो । तर, उसले स्पष्ट ३ अंक बटुल्न सकेन ।

जापानका लागि २ वटै गोल कोजी मियोसीले गरे । उनले २५औं मिनेटमा बक्स क्षेत्रभित्रबाट ३ जना डिफेन्डरलाई बिट गर्दै निकै आकर्षक गोल गरेका थिए ।

तर, जापानको अग्रता धेरैबेर टिक्न सकेन । खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । बक्समा जापानी डिफेन्डरले उरुग्वेका इडिसन काभानीमाथि बल रोक्नेक्रममा ट्याकल गरेपछि भिएआरबाट उरुग्वेलाई पेनाल्टीको अवसर दिइयो । जसमा लुइस स्वारेजले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि दोस्रो हाफमा पनि जापानले अग्रता लियो । उसका लागि खेलको ५९औं मिनेटमा कोजीले नै व्यक्तिगत दोस्रो गोल गरे । उनले बक्सभित्र अनमार्क रहेका बेला सजिलै गोल गरेका थिए । उनको गोलले जापानलाई पुनः खेलमा २–१ को लिड दियो ।

तर, त्यहाँ पनि जापानले धेरैबेर पोस्ट जोगाउन सकेन । खेलको ६६औं मिनेटमा कर्नर किकमा आएको बलमा उरुग्वेका लागि जोसे गिमेन्जले गोल गर्दै खेल २–२ बनाए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल भएन । र, खेल २–२ को बराबरीमा सकियो ।

यससँगै जापान र उरुग्वेले १–१ अंक बाँडेका छन् । अब उरुग्वे ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने जापान १ अंक जोड्दै तेस्रोमा छ । एक खेल कम खेलेको चिली ३ अंकसहित दोस्रोमा हुँदा इक्वेडर अंकविहीन हुँदै पुछारमा छ ।

अझै पनि अंकगणितीय रूपमा जापानको अर्को चरण जाने सम्भावना जीवितै छ । तर, त्यसका लागि उसले अन्तिम खेलमा इक्वेडरलाई हराउनुपर्छ ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ०१:०२
Loading...