बार्सिलोनामा आफ्नो भविष्यबारे बोले कोउटिन्हो

एजेन्सी, असार ५
स्पेनिस बार्सिलोनाका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होको स्पेनमा भविष्य सुनिश्चित छैन । भर्खरै सकिएको सिजनमा खराब प्रदर्शन गरेका २७ वर्षीय मिडफिल्डरलाई बार्सिलोनाले बेच्न चाहेको छ ।

बार्सिलेनाले कोउटिन्होलाई अघिल्लो जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १४५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । तर, बार्सिलोनामा दोस्रो सिजन उनले ठूलै संघर्ष गर्नुपरेको थियो ।

हाल कोपा अमेरिका खेल्न ब्राजिलको टोलीमा रहेका उनले उच्च प्रदर्शन गरिरहेका छन् । आफ्नो भूमिमा ब्राजिलको टोलीमा व्यस्त रहेका उनले एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनामा आफ्नो भविष्यबारे धारणा राखेका छन् ।

बार्सिलोनामा खराब प्रदर्शनपछि चर्को आलोचना खेप्दै आएका उनले यसअघि यस विषयमा बोल्न चाहेका थिएनन् । तर, समर सिजन सकिनेतर्फ लाग्दै गर्दा उनले आफ्नो मौनता तोडेका छन् ।

मिडियासँग बोल्दै उनले बार्सिलोनामा रहनेमा आशंका व्यक्त गरेका छन् । ‘बार्सिलोनासँग मेरो सहकार्य निरन्तर रहन्छ कि रहँदैन भन्नेमा मलाई नै थाहा छैन,’ उनले भने, ‘म अन्तर्राष्ट्रिय ड्युटी सकिएपछि यसबारे निर्णय लिन्छु ।’

कोउटिन्होले भविष्यमा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने भन्दै आफूले क्लब छाड्न सक्ने संकेत दिए । ‘भविष्य कसैलाई थाहा हुँदैन । अहिले म राष्ट्रिय टिममा ध्यान केन्द्रित गर्न चाहन्छु,’ उनले भने, ‘क्लबको अवस्थाअनुसार म निर्णय लिनेछु ।’

कोउटिन्होलाई फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि अनुबन्धका लागि चासो दिइरहेका छन् ।

कोउटिन्होले भर्खरै सकिएको सिजन बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५३ खेल खेल्दै ११ गोल गरेर २ गोलका लागि असिस्ट गरेका थिए ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार १५:३२
Loading...