युभेन्टस पुगेपछि सार्रीले रोनाल्डोबारे दिए यस्तो प्रतिक्रिया

एजेन्सी, असार ५
यसै साता इटालियन क्लब युभेन्टसको प्रमुख प्रशिक्षकमा नियुक्त भएका इटालियन प्रशिक्षक माउरिजयो सार्रीले नयाँ क्लबका सुपरस्टार क्रिस्टियानो रोनाल्डोबारे रोचक प्रतिक्रिया दिएका छन् । इंग्लिस क्लब चेल्सी छाडेर युभेन्टसको कमान्ड सम्हाल्ने जिम्मेवारी लिएका उनी आज इटाली पुगेका हुन् ।

क्लबको नेतृत्व सम्हाल्न पहिलोपटक टुरिन पुगेपछि उनी पत्रकार सम्मेलनमा सहभागी भए । सोक्रममा उनले युभेन्टसका लागि आफ्ना योजना र आगमी रणनीतिबारे बताए भने अन्य विषयमा समेत मत राखे ।

सोहीक्रममा उनले पोर्चुगिज फरवार्ड रोनाल्डोबारे पनि धारणा राखे । भर्खरै सकिएको सिजनमा क्लबका सर्वाधिक गोलकर्ता खेलाडीबारे बोल्दै उनले रोनाल्डो एक अद्भुत र पूर्ण गोलकर्ता खेलाडी रहेको उल्लेख गर्दै उनीसँग काम गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको बताए ।

‘म विश्वकै उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन गइरहको छु । अवश्य पनि, क्रिस्टियानो एक नेता खेलाडी हुन्,’ सार्रीले भने, ‘म उनीसँग काम गर्न आतुर छु ।’

सार्रीले अघि थपे, ‘म मेरो नेतृत्वमा उनलाई थप सफलता दिलाउन चाहन्छु भने उनले मेरै नेतृत्वमा केही महत्त्वपूर्ण रेकर्ड बनाउनेछन् ।’

युरोपियन च्याम्पियन्स लिगबारे बोल्दै सार्रीले नयाँ सिजनमा युभेन्टस सबै प्रतियोगिताको उपाधि दौडमा हुने बताए । ‘म यहाँ केही योजना र कार्यदिशा लिएर आएको छु । नयाँ सिजन क्लबलाई सबैखाले उपाधि दिलाउनु मेरो लक्ष्य हुनेछ,’ सार्रीले भने, ‘यहाँ विश्वस्तरका खेलाडी छन् । म सबै खेलाडीलाई प्रयोग गर्नेछु ।’

सार्रीले नयाँ खेलाडी अनुबन्धबारे स्पष्ट धारणा राखेनन् । ‘म भर्खर आएको छु । यसबारे क्लबका योजना होलान् । हामी अब बसेर छलफल गर्छौं र निर्णय लिन्छौं,’ सार्रीले भने, ‘नयाँ सिजनमा केही परिवर्तन हुनसक्छ ।’

आगामी सिजन रोनाल्डोले यो सिजनभन्दा बढी गोल गर्ने सार्रीले बताए । ‘पहिलो सिजन उनले यहाँ २८ गोल गरे । तर, अब उनले बढी गोल गर्नेछन् । उनी जसरी पनि गोल सक्ने खेलाडी हुन् । उनलाई कसरी खेलाउनुपर्छ, मलाई राम्रोसँग थाहा छ,’ सार्रीले भने ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार १४:२०
Loading...