‘पराग्वेसँग बराबरीमा रोकिएपछि’ मेस्सीले दिए यस्तो प्रतिक्रिया

एजेन्सी, असार ५
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार टिम अर्जेन्टिना दोस्रो खेलमा पराग्वेसँग बराबरीमा रोकियो । पहिलो खेल कोलम्बियासँग २–० ले हारेको अर्जेन्टिना दोस्रो खेलमा पनि बराबरीमा रोकिएपछि उसको अन्तिम आठको यात्रा कठिन बनेको छ ।

अब अर्जेन्टिनोले अर्को चरण जान अन्तिम खेलमा पाहुना टिम कतारलाई हराउनुपर्छ । सो खेलबाट ३ अंक बटुले अर्जेन्टिना अझै पनि अर्को चरण जानसक्छ ।

आज बिहान पराग्वेसँग पछि परेको अवस्थामा कठिन बराबरी खेलेको अर्जेन्टिनालाई हारबाट जोगाउन कप्तान लिओनल मेस्सीले दोस्रो हाफमा पेनाल्टी गोल गरे ।

सो खेलपछि कप्तान मेस्सीले मिडियासँग प्रतिक्रिया दिएका छन् । उनले आफूहरू कठिन अवस्थामा रहे पनि सम्भावना अझै रहेको बताउँदै टिमलाई एक हुन अपिल गरेका छन् ।

खेलपछि मेस्सीले दिएको प्रतिक्रिया–

‘हामीले सकारात्मक ढंगले सोच्नुपर्छ । र, आत्मविश्वासी हुनुपर्छ । हामीले अर्को खेलसम्म पुग्दा आफैंमा धेरैभन्दा धेरै सुधार गर्नु आवश्यक छ ।’

‘हामीलाई थाहा छ, कतारसँगको खेल कठिन हुनेछ । किनभने, उनीहरू अहिले निकै राम्रो खेलिरहेका छन् । तर, हामीलाई यो खेल जित्नु आवश्यक छ ।’

‘मेरो टिमलाई यो विश्वास छ कि, हामी अर्को खेल जित्न सक्छौं ।’

‘अन्तिम खेल जितेर हामी अर्को चरण जान सक्छौं । हामीले कतारसँगको खेलबाट ३ अंक जोड्नुपर्छ । यसबाहेक हामीसँग अर्को विकल्प छैन ।’

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ०६:०९
Loading...