कोपा अमेरिका : मेस्सीको पेनाल्टी गोलले अर्जेन्टिनाको उद्धार, पराग्वेसँग अंक बाँड्यो !

काठमाडौं, असार ५
कप्तान लिओनल मेस्सीको एक मात्रै पेनाल्टी गोलको मदतमा अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा अर्को सम्भावित हार पन्छाएको छ । आज बिहान भएको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले पछि परेको स्थितिमा पेनाल्टीबाट गोल गर्दै पराग्वेसँग १–१ को कठिन बराबरी खेल्यो ।

यो बराबरीसँगै अर्जेन्टिनाको क्वार्टरफाइनल पुग्ने सम्भावना थप कठिन बनेको छ । ऊसँग अब अन्तिम खेल बाँकी छ । उसले अन्तिम खेल पाहुना टोली कतारसँग खेल्नेछ ।

सुरुबाटै पराग्वे हाबी भएको खेलको ३७औं मिनेटमा रिचार्ड स्यान्चेजले गोल गर्दै पराग्वेलाई अग्रता दिलाएका थिए । स्यान्चेजले मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडि बढाएर दिएको क्रस पासमा बक्स भित्रबाट अनमार्क रहेका बेला सजिलै गोल गरेका थिए ।

उत्कृष्ट रक्षात्मक खेल खेलेको पराग्वेविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाले जम्मा एक प्रहार मात्रै हान्यो । कप्तान मेस्सीले फ्रि किकबाट एक मात्रै प्रहार गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिना खेलको ५७औं मिनेटमा खेलमा फर्कियो । भिएआरबाट दिइएको पेनाल्टीमा कप्तान मेस्सीले गोल गर्दै खेल १–१ बनाए । बक्सभित्र पराग्वेका डिफेन्डरले ह्यान्ड बल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

त्यसपछि पराग्वेले खेलमा अग्रता लिने मौका पाएको थियो । गोल खाएको ३ मिनेटपछि नै पराग्वेले पेनाल्टी पायो । अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले पराग्वेका खेलाडीलाई बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा गोन्जालेजको पेनाल्टी अर्जेन्टिनी गोलरक्षक फ्रान्को अर्मानीले रोकेपछि पराग्वे खेलमा अग्रता लिनबाट चुकेको थियो ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो । अब यो बराबरीसँगै अर्जेन्टिना १ अंक जोड्दै समूहको पुछारमा यथावत रहेको छ । कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा छ भने पराग्वे २ अंकसहित दोस्रो स्थानमा छ । कतार १ अंकसहित तेस्रोमा छ ।

अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई हराएको अवस्थामा क्वार्टरफाइनल पुग्ने सम्भावना रहन्छ । तर, उसका लागि कोलम्बिया र पराग्वेको नतिजाले पनि साथ दिनुपर्छ ।

अर्जेन्टिना अन्तिम खेलमा यतिद कतारसँग हारे वा बराबरीमा रोकिए ऊ कोपाको समूह चरणबाटै आउछ हुनेछ ।

प्रकाशित मिति ५ असार २०७६, बिहीबार ०२:२८
Loading...