कोपा अमेरिका : कतारलाई हराउँदै कोलम्बिया क्वार्टरफाइनल नजिक

काठमाडौं, असार ५
हामेस रोड्रिग्वेजको टिम कोलम्बिया ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल नजिक पुगेको गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको समूहको दोस्रो खेलमा कोलम्बियाले पाहुना टोली कतारमाथि १–० को कठिन जित निकाल्दै क्वार्टरफाइनल नजिक पुगेको हो ।

यसअघि लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई २–० ले हराएको कोलम्बियालाई कतारविरुद्ध गोल गर्न खेलको ८६औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको अन्तिम समयमा कोलम्बियाले बललाई जाली चुमाउन सफल भयो ।

खेलको ८६औं मिनेटमा कप्तान रोड्रिग्वेजले दिएको सुन्दर आकासे पासमा डुभान जापाटाले कठिन अवस्थाबाट हेडिङ गोल गरेर टोलीलाई १–० को अग्रता दिए । अन्ततः त्यही १ गोल कोलम्बियालाई ३ अंकक जोड्न पर्याप्त बन्यो ।

यससँगै कोलम्बिया समूह ‘बी’मा २ खेलबाट ६ अंक जोड्दै अन्तिम आठको बाटो लगभग पक्का गरेको छ । कतारको पनि अंकगणितीय रूपमा अझै पनि सम्भावना बाँकी छ । कतारको खातामा १ अंक छ ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार २३:३३
Loading...