बार्सिलोनाले फर्काउँदा नेइमारको मूल्य ३५० मिलियन !

एजेन्सी, असार ४
दुई–तीन दिनयताका रिपोर्टअनुसार स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्वस्टार खेलाडी ब्राजिलियन नेइमार भित्र्याउन तयारी थालेको छ । उसले फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यानको लाइन छाडेर पूर्वस्टार खेलाडी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको चर्चा चुलीमा छ ।

बार्सिलोना फरक अवस्थामा नेइमार फर्काउनतिर लाग्नुमा टोलीका कप्तान लिओनल मेस्सीको मुख्य भूमिका रहेको छ । मेस्सीसहित टोलीका प्रमुख खेलाडीले ग्रीजम्यानको साटो नेइमार फर्काउन अडान लिएपछि बार्सिलोना आफूले नै बेचेका विश्वकीर्तिमानी महँगा खेलाडीलाई फर्काउन लागेको हो ।

पछिल्ला स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोनाले २७ वर्षीय ब्राजिलियन नेइमार फर्काउन ‘विशेष प्याकेज’मा अफर गर्ने तयारी गरेको छ । उसले नेइमारका लागि रकम १०० मिलियन युरोसहित ३ जना स्टार खेलाडी दिने तयारी गरेको छ ।

जसमा २ वर्षअघि अनुबन्ध भएका फ्रेन्च विंगर उसामान डेम्बेले, फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र क्रोएसियन मिडफिल्डर इभान राकिटिकको नाम चर्चामा छ । बार्सिलोनाले यसै समरमा बेच्ने खेलाडीको सूचीमा रहेका यी ३ जनै खेलाडीलाई पिएसजी पठाएर नेइमार फर्काउने चर्चा छ ।

यसअनुसार बार्सिलोनाले पिएसजीसँग डिल गरे नेइमारको बजार मूल्य कम्तीमा २५० मिलियन र बढीमा ३५० मिलियन युरो हुन्छ । सन् २०१७ मा बार्सिलोनाले नेइमारलाई सरुवा बजारमा रेकर्ड राख्दै २२२ मिलियन युरोमा बेचेको थियो ।

तर, २ वर्षपछि बार्सिलोना आफैंले बेचेका खेलाडीका लागि मोटो बजेट खर्चिन तयार छ । जसमा उसले १०० मिलियन रकमसहित ३ खेलाडी डिलमा राख्ने तयारी गरिरहेको छ ।

बार्सिलोनाले नेइमारका लागि खर्चिन तयार बजेट :

  • रकम – १०० मिलियन युरो
  • राकिटिक – खरिद मूल्य २० मिलियन युरो, सन् २०१४, सेभिल्ला
  • उम्टिटी – खरिद मूल्य २५ मिलियन युरो, सन् २०१६, लियोन
  • डेम्बेले – खरिद मूल्य १०५ मिलियन, सन् २०१७, बोरुसिया डर्टमुन्ड
  • जम्मा – २५० मिलियन युरो

यसरी हेर्दा बार्सिलोनाले पिएसजीलाई दिन तयार १०० मिलियनबाहेक डेम्बेले, उम्टिटी र राकिटिकको न्यूनतम् खरिद मूल्य मात्रै १५० मिलियन हुन्छ । यो बार्सिलोनाले खरिद गर्दाको ३ जना खेलाडीको कूल मूल्य हो । यदि अहिले यी खेलाडीलाई हालकै अवस्थामा बेच्नु भने बार्सिलोनाले कम्तीमा २५० मिलियन युरोसम्म बटुल्न सक्छ ।

  • डेम्बेले – न्यूनतम् १३० मिलियन युरो
  • राकिटिक – न्यूनतम् ६० मिलियन युरो
  • उम्टिटी – न्यूनतम् ६० मिलियन युरो

यसरी अहिले पनि बार्सिलोनाले यी ३ जना खेलाडी बेच्दा हात पर्ने रकम र नेइमारका लागि उसले थप्न तयार १०० मिलियन जोड्दा नेइमारको मोटामोटी मूल्यांकन कम्तीमा ३५० मिलियन हुन्छ, जुन बार्सिलोनाले बेचेको भन्दा २२८ मिलियन बढी हो ।

के साँच्चै बार्सिलोनाले पिएसजीलाई आफ्ना ३ जना खेलाडीसहित १०० मिलियन युरो दिएर नेइमार फर्काउँछ त ?

प्रकाशित मिति ४ असार २०७६, बुधबार १५:०८
Loading...