एएफसी कप : लज्जास्पद हार व्यहोर्दै मनाङ मर्स्याङ्दी समूह चरणबाटै आउट !

काठमाडौं, असार ४
बंगलादेशमा जारी एसियन देशका क्लबहरूले खेल्ने एएफसी कप फुटबलमा नेपालको क्लब मनाङ मर्स्याङ्दी समूह चरणबाटै आउट भएको छ । आज राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोली अवहानी लिमिटेड ढाकासँग ५–० को नमिठो हार व्यहोर्दै मनाङ अन्तिम खेलअघि नै प्रतियोगिताबाट आउट भएको हो ।

मनाङमाथि शानदार जित निकाल्नेक्रममा अवहानीले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल हानेको थियो । खेलको ११औं मिनेटमा मोहम्मद नबिब नेवाज जीवनको गोलबाट अवहानीले अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको थप समयमा उनैले गोल गरेपछि अवहानी २–० ले अगाडि रह्यो ।

त्यसपछि दोस्रो हाफमा मनाङले लगालग ३ गोल खायो । जहाँ अवहानीले खेलको ६३औं, ७५औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ५–० को फराकिलो जित निकाल्यो ।

यससँगै मनाङका लागि प्रतियोगिताको अर्को चरणको बाटो पनि बन्द भएको छ । समूह ‘ई’ मा रहेको मनाङले ५ खेलमध्ये ३ खेल हारेर २ खेल बराबरी गर्दै मात्रै २ अंक बनायो ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार १४:१६
Loading...