नेइमारले दुई वर्षपछि सम्झिए बार्सिलोना– ‘म घर आफ्नो घर फर्किन चाहन्छु’

एजेन्सी, असार ४
ब्राजिलियन सुपरस्टार नेइमारले यसै समरमा क्लब पिएसजी छाड्ने सम्भावना बढेको छ । क्लबका अध्यक्ष नासिर अल खिलाफीसँग सम्बन्ध चिसिएपछि उनले ‘पुनः पिएसजी नफर्किने’ भनेर क्लबलाई सन्देश पठाएका छन् ।

यस्तो रिपोर्ट स्पेनिस पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले छापेको छ । उसले फ्रन्ट पेजमै नेइमारको सन्देशलाई ‘म घर फर्किन चाहन्छु’ शीर्षकमा प्रमुख समाचार छापेको छ । सो पत्रिकाले गोप्य स्रोत उद्धृत गर्दै नेइमारले भनाइ उल्लेख यसरी उल्लेख गरेको छ–

‘म योभन्दा बढी यहाँ रहन र खेल्न चाहन्नँ । अब म मेरो घर फर्किन चाहन्छु, जुन मैले कहिल्यै छाड्नु हुँदैनथ्यो ।’

खबरअनुसार नेइमार अहिले बार्सिलोनाका कप्तान लिओनल मेस्सीसहित जेरार्ड पिकेसँग नियमित सम्पर्कमा छन् । नेइमारको फिर्तीबारे मेस्सी र पिकेले नै मध्यस्थताको भूमिका खेलिरहेको बताइन्छ ।

यता, स्पेनकै अन्य केही मिडियाले भने नेइमारले आफ्ना सहयोगीमार्फत् बार्सिलोनामा नयाँ घरसमेत खोजी गर्न थालेको रिपोर्ट छापेका छन् ।

नेइमार २ वर्षअघि अप्रत्यासित रूपमा बार्सिलोना छाडेर विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार १२:०२
Loading...