‘मेस्सी सधैं अर्जेन्टिनाबाट जित्न चाहन्छन्, उनलाई हौसला आवश्यक छ’

एजेन्सी, असार ४
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भयो । सो हारपछि उसले भोलि (बिहीबार) बिहान दोस्रो खेलमा पराग्वेको सामना गर्दैछ ।

सो खेलअघि स्पेनिस एथ्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीले मेस्सीको बचाउ गरेका छन् । कोलम्बियासँग हारेपछि चर्को आलोचना खेपिरहेका मेस्सीले सधैं देशबाट उपाधि जित्न चाहेको सिमोनीले बताएका छन् ।

तर, मेस्सीको समर्थकहरूबाट हौसलाभन्दा बढी आलोचना हुँदा उनी निराश हुने गरेको सिमोनीको भनाइ छ । ‘मेस्सी छिनभरमै मैदानमा समाधान दिनसक्ने खेलाडी हुन्, मलाई उनको क्षमता र क्लासमा कुनै शंका छैन,’ सिमोनी ‘फक्स स्पोर्टस्’सँग कुरा गर्दै उनले भने ।

सिमोनीले अघि थपे, ‘उनी अर्जेन्टिनाबाट सधैं जित्न चाहन्छन् । तर, उनलाई हौसलाको अभाव छ । यस्तो आलोचना र दबाबमा कसले खेल्न सक्छ ?’

मेस्सीले अर्जेन्टिनाबाट देशका लागि प्रशस्तै उपाधि जितून् भन्ने आफ्नो पनि इच्छा रहेको बताउँदै सिमोनीले अझै पनि त्यो सम्भावना रहेको बताए । ‘अर्जेन्टिनी फ्यानहरू मेस्सीका लागि हौसलाको स्रोत बन्नुपर्छ । उनले अझै पनि देशलाई च्याम्पियन बनाउन सक्छन्,’ सिमोनीले भने ।

मेस्सीले आफ्नो नेतृत्वमा देशलाई आजसम्म प्रमुख उपाधि जिताउन सकेका छैनन् । उनले उमेर समूहका प्रतियोगितामा देशलाई च्याम्पियन बनाए पनि सिनियर टिमबाट आजसम्म देशलाई उपाधि जिताउन नसक्दा अर्जेन्टिनाभित्रै मेस्सीको चर्को आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार ०९:१७
Loading...