नेइमारले बार्सिलोनामा घर खोज्न थाले !

एजेन्सी, असार ४
ब्राजिलियन खेलाडी नेइमारले स्पेनको बार्सिलोनामा नयाँ घर खोजी गरिरहेको खबर बाहिरिएको छ । फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका उनले यो समरमा क्लब छाडेर पूर्वक्लब बार्सिलोना फर्किन लागेको चर्चा चुलीमा छ ।

बार्सिलोनाले पनि आफ्ना पूर्वस्टारलाई फर्काउन इच्छा देखाएको र त्यसका लागि उसले आफ्ना ३ जना खेलाडीसहित रकमसमेत थपेर नेइमार फर्काउन सक्ने चर्चा छ ।

नेइमार बार्सिलोना फर्किने चर्चा बढेसँगै उनले आफ्ना सहयोगीमार्फत् बार्सिलोनामा बस्ने घरको खोजी गर्न थालेका हुन् । ‘गोल’ टिभीका अनुसार नेइमारले आफ्नी बहिनी र आमासहित बस्ने गरी घर खोजी गरिरहेका छन् ।

स्पेनिस मिडियाले नेइमार बस्न सक्ने एक घरको तस्बिरसमेत सार्वजनिक गर्दै उनले बार्सिलोना फर्किने बाटो तय गरेको रिपोर्ट छापेका छन् ।

नेइमार २ वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरो मूल्यमा पिएसजीमा अनुबन्ध भएका थिए । तर, त्यहाँ उनले सोचेजस्तो सफलता पाउन नसकेपछि उनी निराश छन् ।

पछिल्लो समय क्लबका अध्यक्ष नासिर अल खिलाफीसँग उनको सम्बन्ध चिसिएपछि नेइमारले पेरिस छाड्ने करिब पक्काजस्तै देखिन्छ ।

अघिल्लो दिन अध्यक्ष खिलाफीले पनि स्पेनबाट उचित अफर आए आफूहरू नेइमारलाई बेच्न तयार रहेको बताइसकेका छन् ।

नेइमार अहिले चोटका कारण आराम गरिरहेका छन् । कोपा अमेरिका खेल्न राष्ट्रिय टिममा पुगेका उनी कतारसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएर टोलीबाहिर रहेका थिए ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार ०५:३३
Loading...