कोपा अमेरिका : ‘गर कि मर’को अवस्थामा पराग्वेसँग भिड्दै अर्जेन्टिना, गर्ला त कमब्याक ?

काठमाडौं, असार ४
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो खेल हारेको अर्जेन्टिना नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान समूह चरणको दोस्रो खेल खेल्दैछ । यसअघि अर्जेन्टिना आफ्नो पहिलो खेलमा कोलिम्बयासँग २–० ले स्तब्ध बनेको थियो ।

उसले दोस्रो खेलमा भोलि बिहान पराग्वेको सामना गर्न लागेको हो । फिफा वरीयतामा ११औं स्थानमा रहेको अर्जेन्टिनाले ३६औं स्थानको पराग्वेको सामना गर्न लागेको हो ।

तुलनातमक रूपमा पराग्वे अर्जेन्टिनाभन्दा निकै कमजोर टिम मानिन्छ । फिफा वरीयतामा पराग्वे अर्जेन्टिनाभन्दा भन्दा ठीक २५ स्थान तल छ ।

पहिलो खेल हारेको अर्जेन्टिनाका लागि यो खेल ‘गर कि मर’ को अवस्था हुनेछ । यसै खेलको नतिजाले उसको क्वार्टरफाइनलको यात्राको करिब–करिब टुंगो लगाउनेछ ।

अर्जेन्टिना हाल समूह ‘बी’मा अंकविहीन हुँदै सबैभन्दा पुछारमा रहेको छ । कोलम्बिया ३ अंकसहित सिरानमा छ भने पराग्वे र कतार १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यसअघि अर्जेन्टिना कोलम्ब्यिासँग २–० ले हार्दा पराग्वेले कतारसँग २–२ को बराबरी खेलेको थियो । पराग्वे फिफा वरीयतामा निकै तल भए पनि ऊ पछिल्लो समय राम्रो लयमा खेलिरहेको छ ।

अर्को चरण जान अर्जेन्टिना र पराग्वे दुवैका लागि यो खेलको ३ अंक उत्तिकै महत्त्वपूर्ण हुनेछ । यस खेलको विजेता टिम अर्को चरणको सम्भावना जीवित हुनेछ ।

लिओनल मेस्सीको टिम अर्जेन्टिना यो खेल खेल्दा चर्को दबाबमा हुनेछ । प्रतियोगिताकै प्रमुख उपाधि दाबेदार टिम मानिएको ऊ अहिले क्वार्टरफाइनल प्रवेश गर्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा छ ।

अर्जेन्टिना यो खेल जितेर अन्तिम आठमा जाने ढोका खुला राख्न चाहन्छ । तर, यदि पराग्वेले हराए ऊ अन्तिम खेल बाँकी छँदै समूह चरणबाटै आउट हुनसक्छ । त्यसका लागि कोलम्बियाको नतिजाले पनि भर गर्छ ।

यदि कोलम्यिबाले आफ्नो खेलमा कतारलाई जित्यो र अर्जेन्टिना पराग्वेसँग पराजित भए अर्जेन्टिना अन्तिम खेल नखेली प्रतियोगिताबाट आउट हुनेछ ।

अर्जेन्टिना र पराग्वेको खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । त्यसअघि सोही समूहको अर्को खेलमा बिहान ३ः१५ बजबोट कोलिम्बया र कतार भिड्नेछन् ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार ०५:३४
Loading...