कोपा अमेरिका : भिएआरले ‘डुबायो’ ब्राजिललाई, भेनेज्वेलासँग रोकियो !

काठमाडौं, असार ४
आफ्नो भूमिमा आयोजित कोपा अमेरिका फुटबलको उपाधि जित्ने दौडमा रहेको ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको समूहको दोस्रो खेलमा ब्राजिललाई पाहुना टोली भेनेज्वेलाले गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले दोस्रो हाफमा २ गोल गरे पनि भिएआरबाट २ वटै गोल रद्द गरिएको थियो । १ गोलमा अफसाइड निर्णय दिइयो भने अर्को गोलमा ह्यान्ड बल थियो ।

त्यसअघि पहिलो हाफको ३९औं मिनेटमा रोवर्ट फर्मिन्होले गोल गरे पनि त्यस दौरान उनले विपक्षी खेलाडीमाथि फउल गरेकाले रेफ्रीले गोललाई मान्यता दिएनन् ।

पहिलो हाफमा ब्राजिलले पटक–पटक गोलका अवसर बनाए पनि उसले भेनेज्वेलाको रक्षापंक्ति तोड्न सकेन । फर्मिन्होको गोल रद्द हुनु ब्राजिलका लागि सुरुआती झट्का थियो ।

त्यसपछि दोस्रो हाफमा पनि ब्राजिलले सुरुबाटै आक्रामक खेल खेल्यो । त्यस दौरान खेलको ६०औं मिनेटमा ग्याब्रिएल जेससले गोल गरेर खुसीयाली मनाए पनि सो गोल अफसाइड अवस्थामा भएको भन्दै भिएआरबाट रद्द गरिएको थियो ।

त्यसपछि खेलको अन्तिम ३ मिनेट बाँकी छँदा फिलिपे कोउटिन्होले गोल गरे पनि सो गोल दौरान फर्मिन्होले ह्यान्ड बल गरेको भन्दै भिएआरबाट गोल रद्द गरियो । त्यसपछिको बाँकी ३ मिनेट र इन्जुरी ९ मिनेटको समयमा पनि ब्राजिलले गोल गर्न नसक्दा खेल ०–० मा सकियो ।

यससँगै ब्राजिल र भेनेज्वेला दुवैले १–१ अंक बाँडेका छन् । यो बराबरीपछि पनि ब्राजिल कूल ४ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । ४ अंक नै भएको पेरु दोस्रोमा छ भने ब्राजिललाई रोकेको भेनेज्वेला २ अंकसहित तेस्रोमा छ ।

लगातार दुई खेल हारेको बोलिभिया भने अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट आउट भएको छ भने ब्राजिल, पेरु र भेनेज्वेला ३ वटै टिमको अन्तिम आठमा जाने टुंगो अब अन्तिम खेलबाट मात्रै लाग्नेछ । अंकगणितीय रूपमा अब यी ३ वटै टिमको क्वार्टरफाइनल पुग्ने सम्भावना बाँकी छ ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार ०२:३३
Loading...