‘मेस्सी भएको टिममा असम्भव केही छैन, अर्जेन्टिनाले कमब्याक गर्छ’

एजेन्सी, असार ३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार टिम अर्जेन्टिना पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भयो । लिओनल मेस्सीले कप्तानी गरेको अर्जेन्टिना पहिलो खेलमा नमिठो हारको सिकार भएपछि उनीसहित टिमकै अहिले आलोचना भइरहेको छ ।

यद्यपि, अर्जेन्टिनाले आफ्नो समूहमा अझै दुई खेल जितेर अर्को चरण जाने सम्भावना छँदैछ । अबका दुईमध्ये एक खेल हारेको खण्डमा भने अर्जेन्टिना संकटमा पर्नेछ ।

अर्जेन्टिना कोलम्बियासँग हारेपछि बार्सिलोनाका सहकर्मी तथा उरुग्वेका फरवार्ड लुइस स्वारेजले मेस्सी र अर्जेन्टिनी टिमबारे धारणा राखेका छन् । हाल कोपा खेलिरहेका उनले मेस्सीको बचाउ गर्दै अर्जेन्टिनाले कमब्याक गर्ने बताए ।

‘मेस्सी अहिले कठिन अवस्थासँग जुधिरहेका छन् । उनीमाथि मानिसले गरेका कमेन्टबाट उनी अझै तनावमा छन् । म उनको अवस्था बुझ्छु, उनीप्रति मेरो सहानभूति छ,’ स्वारेजले भने ।

उनले मेस्सी भएको टिममा जे पनि सम्भव हुने बताए । ‘अवश्य पनि, कोलम्बियासँगको नतिजा उनीहरूका लागि स्वभाविक थिएन । तर, मेस्सीजस्तो विश्वकै उत्कृष्ट खेलाडी भएको टिममा असम्भव भन्ने केही हुँदैन,’ स्वारेजले भने, ‘मलाई विश्वास छ, मेस्सीकै प्रेरणामा अर्जेन्टिनाले पुनरागमन गर्नेछ ।’

आफ्नो टिमको अवस्थाबारे बोल्दै स्वारेजले उरुग्वे पनि उपाधि दाबेदार टिम रहेको बताए । ‘हामीले प्रतियोगितामा सुखद् सुरुआत गरेका छौं । पहिलो खेलको नतिजाबाट हामी निकै उत्साहित भएका छौं,’ स्वारेजले भने, ‘हाम्रो लक्ष्य उपाधि हो ।’

प्रकाशित मिति ३ असार २०७६, मंगलवार १५:३७
Loading...