ग्रीजम्यान अनुबन्धबारे बार्सिलोनाले मुख खोल्यो !

एजेन्सी, असार ३
स्पेनिस बार्सिलोनाले यसै समर सिजनमा एक स्टार खेलाडी भित्र्याउने तयारी गरेको छ । जसमा फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान र पूर्वखेलाडी नेइमारको नाम चर्चामा छ ।

पछिल्ला मिडिया रिपोर्टअनुसार बार्सिलोना अहिले पूर्वखेलाडी ब्राजिलियन नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट फर्काउन सकिने सम्भावनाबारे कसरत गरिरहेको छ ।

तर, अझै पनि बार्सिलोना विश्वकपविजेता ग्रीजम्यान भित्र्याउने दौडबाट पनि पछि हटिसकेको छैन । ग्रीजम्यानको विषयमा बार्सिलोना ‘पर्ख र हेर’को रणनीतिमा देखिन्छ । ग्रीजम्यानले सिजन सकिनासाथ एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरिसकेका छन् ।

केही समयअघि ग्रीजम्यानले एथ्लेटिको छाड्नुअघि नै बार्सिलोनाले उनीसँग सम्झौता गरेको खबर पनि आएको थियो । तर, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने सो कुरालाई नकारेका छन् । उनले स्पेनिस मिडियासँग कुरा गर्दै भने, ‘यो प्रष्ट पार्न चाहन्छु, ग्रीजम्यानसँग कुनै सम्झौता भएको छैन ।’

ग्रीजम्यान क्याम्प नोउ उत्रिने विषयमा बोल्दै बार्टोमेउले आफूहरूले ठोस निर्णय लिइनसकेको बताए । ‘हामीले उनीबारे केही बोलेका छैनौं । हामी बजार हेर्छौं र अघि बढ्छौं,’ बार्टोमेउले भने, ‘हामीसँग अझै समय छ ।’

उनले थपे, ‘को आउँदैछन् भन्नेबारे अहिले नै हामी बोल्दैनौं । अवश्य पनि, कोही आउनेछन् र कोही जानेछन् ।’

प्रकाशित मिति ३ असार २०७६, मंगलवार १४:४२
Loading...