‘मेस्सी अहिले विश्वको उत्कृष्ट हुन कति गाह्रो छ भन्ने अनुभूत गरिरहेका छन्’

एजेन्सी, असार ३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार लिओनल मेस्सीको टिम अर्जेन्टिना पहिलो खेलमै कोलम्बियासँग २–० ले पराजित भयो । प्रमुख खेलाडी लिएर मैदान उत्रिए पनि अर्जेन्टिनाले कोलम्बियाविरुद्ध १ गोल पनि गर्न सकेन ।

सो हारपछि अझै पनि अर्जेन्टिनी टिमका कप्तान लिओनल मेस्सी र टिमको चर्को आलोचना भइरहेको छ । यता, अबका बाँकी दुई खेल जितेर अर्जेन्टिनालाई अर्को चरण पुग्नुपर्ने दबाब त छँदैछ ।

सो खेलपछि कोलम्बियाका खेलाडी राडामेल फाल्काओले मेस्सीको बारेमा टिप्पणी गरेका छन् । मिडियासँग बोल्दै उनले मेस्सीले विश्वको उत्कृष्ट खेलाडी हुनुको मूल्य अहिले चुकाइरहेको बताएका छन् ।

फाल्काओले मेस्सीजस्ता विश्वकै उत्कृष्ट खेलाडीलाई एक–दुई हार वा एक–दुई खराब नतिजाले पनि ठूलो फरक पार्ने बताएका छन् । ‘मेस्सी अहिले जुन पीडा र दबाबमा छन्, त्यो म राम्रोसँग बुझ्दछु,’ फाल्काओले भने, ‘उनीजस्ता खेलाडी भएका टिमका लागि यस्ता नतिजा पीडादायी हुन्छन् नै ।’

फाल्काओले यो बताएका छन् कि, मेस्सी अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन कति कठिन छ भन्ने कुरा अनुभूत गरिरहेका छन् । ‘यो हारपछि उनले विश्वकै उत्कृष्ट खेलाडी हुनुको मूल्य चुकाइरहेका छन्,’ फाल्काओले थपे ।

प्रकाशित मिति ३ असार २०७६, मंगलवार १३:५६
Loading...