म्याराडोनाको अर्को आक्रोश– ‘तिमीहरूले अर्जेन्टिनी जर्सीको बेइज्जत गरिरहेका छौं’

एजेन्सी, असार ३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार टिम अर्जेन्टिनाले गत आइतबार कोलिम्बयासँग २–० को नमिठो हार भोग्यो । सो हारपछि उसको अर्को चरणको सम्भावनामा झट्का लागेको छ । भलै, बाँकी दुईटा खेल जिते अर्जेन्टिना क्वार्टरफाइनल पुग्नेछ । उसले अब कतार र पराग्वेसँग खेल्नेछ ।

अर्जेन्टिना प्रतियोगिताको उद्घाटन खेलमै नमज्जाले हारेपछि लिजेन्ड डिएगो म्याराडोनाले चर्को असतुष्टि पोखेका छन् । दुई दिनको बीचमा दुई अन्तर्वार्ता दिँदै पूर्वविश्वकपविजेता उनले अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको आलोचना गर्दै आक्रोश पोखेका हुन् ।

कुनै बेला मेस्सीलाई राष्ट्रिय टिमको कप्तान बनाएका र प्रशिक्षण दिएका म्याराडोनाले मेस्सीसहितका खेलाडीले अर्जेन्टिनी जर्सीको ‘अपमान गरिरहेको’ भन्दै चर्को असन्तुष्टि पोखेका छन् । अघिल्लो दिन उनले एक अन्तर्वार्तामा बोल्दै ‘अर्जेन्टिनालाई टोङ्गाले पनि हराउन सक्छ भन्ने मेस्सीलाई राम्रोसँग थाहा छ’ भन्दै व्यंग्य हानेका थिए । टोङ्गा समुद्रमाथि रहेको र विश्वको सबैभन्दा साना देशमध्ये २१औं देश हो, जुन फिफा वरीयतामा २०२औं स्थानमा छ ।

त्यसो भनेको भोलिपल्ट म्याराडोनाले फेरि अर्को अन्र्तर्वातामा रिसाउँदै अहिलेको अर्जेन्टिनी टिमले राष्ट्रिय जर्सीको बेइज्जत गरिरहेको बताएका छन् । ‘उनीहरूले आफूलाई राष्ट्रिय जर्सी लगाउन लायक ठान्छन् कि ठान्दैनन्, मलाई थाहा छैन,’ म्याराडोनाले आलोचना गर्दै भने, ‘यदि त्यसो हो भने उनीहरूले जर्सीको बेइज्जत गरिरहेका छन् ।’

प्रकाशित मिति ३ असार २०७६, मंगलवार ०९:५८
Loading...