कोपा अमेरिका : ब्राजिल र भेनेज्वेलाको भिडन्त हुँदै !

काठमाडौं, असार ३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा नेपाली समयअनुसार बुधबार बिहान दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत बोलिभिया र पेरु आमनेसामने हुँदैछन् ।

यो यसअघि आफ्नो पहिलो खेलमा बोलिभिया घरेलु टोली ब्राजिलसँग ३–० ले हारेको थियो भने पेरु भेनेज्वेलासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पराजित भएर अंकविहीन हुँदै समूहको पुछारमा रहेको बोलिभियालाई अर्को चरण जाने सम्भावना जीवितै राख्न यस खेलमा स्पष्ट जित आवश्यक छ । यदि पेरुले जित निकाले ऊ अर्को चरणनजिक पुग्नेछ । यो खेल नेपाली समयअनुसार बुधबार बिहान ३ः४५ बजेबाट सुरु हुनेछ ।

भोलि बिहानै हुने अर्को खेलमा आयोजक ब्राजिल र भेनेज्वेला खेल्दैछन् । यसअघि ब्राजिलले पहिलो खेलमा बोलिभियालाई ३–० ले हराएर ३ अंक जोडिसकेको छ भने भेनेज्वेलाले पेरुसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ ।

प्रतियोगिताको प्रमुख उपाधि दाबेदार ब्राजिल यो खेल जितेर अर्को चरणको यात्रा सुरक्षित गर्ने दाउमा छ । भेनेज्वेला भने ब्राजिलबाट ३ अंक खोसेर आफ्नो सम्भवना जीवितै राख्न चाहन्छ ।

यदि यस खेलमा ब्राजिल विजयी भए उसको अर्को चरणको यात्रा पक्का हुनेछ । खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ३ असार २०७६, मंगलवार ०८:१४
Loading...