काठमाडौं, असार ३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा साबिक विजेता चिलीले रवाफिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा चिलीले पाहुना टोली जापानलाई ४–० ले स्तब्ध बनाएको हो ।
चिलीको जितमा फरवार्ड एडुआर्डो भार्गासले २ गोल गरेपछि चिलीको सहज जित सम्भव भएको हो । चिलीले खेलको ४१औं मिनेटमा एरिक पुल्गरको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि चिलीले दोस्रो हाफमा ३ गोल थप्यो । ५४औं मिनेटमा माउरिसियो इस्लाको पासमा भार्गासले गोल गर्दै चिलीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२औं मिनेटमा एलेक्सिस सान्चेजले टोलीका लागि तेस्रो गोल गर्दा त्यसपछि अर्को मिनेटमै भार्गासले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल चिलीले ४–० ले जित्यो ।
भार्गास उनै खेलाडी हुन् जो कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन हुँदा हाई स्कोरर बनेका थिए ।
अब चिलीले पहिलो खेल जितेर खातामा ३ अंक बटुलेको छ । दोस्रो स्थानमा ३ अंक नै भएको उरुग्वे छ ।
प्रकाशित मिति ३ असार २०७६, मंगलवार ०२:४५