नेइमारसँग रिसाए पिएसजीका अध्यक्ष, भने– ‘खुसी छैनन् भने उनी जान सक्छन्’

एजेन्सी, असार २
ब्राजिलियन खेलाडी नेइमार र पिएसजीका अध्यक्ष नासिर अल खिलाफीबीच टकराव बढेको छ । यसै समरमा क्लब छाड्ने मनसायमा रहेको भनिएका नेइमारको विषयलाई लिएर उनले असन्तुष्टिले भरिएको टिप्पणी गरेका छन् ।

खिलाफीले नेइमारलाई फसाएर भित्र्याएको नभई आफैं पिएसजीमा आएको भन्दै यदि उनी खुसी छैनन् भने क्लबले उचित मूल्य पाए बेच्न तयार रहको पनि बताएका छन् ।

केही समयअघि ‘नेइमार बिक्रीमा नरहेको’ बताएका उनले करिब दुई सातापछि नेइमारप्रति असन्तुष्टि जनाउँदै उनी खुसी छैनन् भने क्लब छाडेर जानसक्ने चेतावनी दिएका छन् ।

पिएसजीले नेइमारलाई सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट अनुबन्ध गरेको थियो । नेइमार बार्सिलोनामा लिओनल मेस्सीको छायाँमा परेको भन्दै व्यक्तिगत ठूला अवार्ड जित्न स्पेन छाडेर पिएसजी पुगेका थिए ।

तर, पिएसजीमा दुई सिजन बिताइसकेका उनले चाहेजस्तो ठूलो सफलता पाउन नसकेपछि उनी निराश छन् । जसका कारण उनले यसै समरमा क्लब छाड्ने मनस्थिति बनाएको चर्चा अहिले चर्को छ । नेइमार हाल चोटग्रस्त अवस्थामा उपचार गराइरहेका छन् ।

कोपा अमेरिका खेल्न ब्राजिलको टोलीमा पुगेका उनी कतारसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएर टोलीबाहिर रहेका छन् । केही दिनअघि उनले आफू अब पिएसजी नफर्किने भनेर पिएसजीलाई सन्देश पठाएको खबर बाहिरिएको थियो ।

नेइमारलाई उनको पूर्वक्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पुनः स्पेन नै फर्काउन चाहेका छन् । मेस्सी स्वयंले पनि यो कुरा बताएका छन् ।

पुनः स्पेन फर्किने सम्भावना र चर्चाबीच नेइमारले पिएसजीसँग डिभोर्स गर्ने तयारी गरेको चर्चा चलिरहँदा क्लबका अध्यक्ष खिलाफी स्वयंले पनि नेइमारप्रति असन्तुष्टि जनाउँदै क्लबको धारणा सार्वजनिक गरेका हुन् ।

उनले आज एक अन्तर्वार्तामा बोल्दै नेइमार क्लब छाड्न चाहन्छन् भने स्पेन वा अन्यत्रबाट उचित मूल्यको प्रस्ताव आए आफूहरू उनलाई बेच्न तयार रहेको बताएका छन् । उनले यो पनि बताएका छन् कि, पिएसजीले नेइमारलाई बल गरेर अनुबन्ध गरेको थिएन । बरु, नेइमार आफ्नै चाहनाले पिएसजी भित्रिएका हुन् ।

क्लबका अध्यक्ष खिलाफीले नेइमारको विषयमा भनेका छन्, ‘म मेरो क्लबका जर्सी लगाएका खेलाडीका लागि सबथोक गर्न तयार छु । तर, जो यो चाहँदैनन् वा बुझ्दैनन्, हामी विकल्प खोज्छौं ।’

उनले अघि थपे, ‘नेइमारलाई पिएसजी ल्याउन हामीलाई कसैले पनि दबाब दिएको थिएन, न हामीले नै । र, उनलाई यहाँ कसैले धकेलेर फसाएको पनि होइन । उनले आफ्नो इच्छाअनुसार क्लबसँग हस्ताक्षर गरेका हुन् ।’

प्रकाशित मिति २ असार २०७६, सोमबार १६:२०
Loading...