‘भावुक मन्तव्य’ दिँदै ३० वर्षपछि टोटीले रोमालाई गरे टाटा बाई–बाई !

एजेन्सी, असार २
इटालियन क्लब रोमाका लिजेन्ड खेलाडी टोटीले करिअरको ३० वर्षपछि सबैखाले भूमिकाबाट क्लब छाडेको घोषणा गरेका छन् । उनी सन् १९९८ मा युवा खेलाडीका रूपमा क्लबमा अनुबन्ध भएका थिए । त्यसपछि उनले रोमाको जर्सीमा सन् २०१७ सम्म खेलाडीका रूपमा रहेर खेलेका थिए भने त्यसयता क्लबको निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

पछिल्लो समय क्लबका अध्यक्ष जेम्स पालोटासँग उनको सम्बन्धमा खटपट पैदा भएपछि उनले क्लब छाड्ने निर्णय लिएको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ । यसअघि उनी क्लबको टेक्निकल डाइरेक्टरका रूपमा रहने चर्चा आए पनि उनले क्लब नै छाड्ने घोषणा गरेका हुन् ।

आज उनले एक राजीनामा पत्र लेख्दै क्लबको सबैखाले जिम्मेवारीबाट बिदा लिएको घोषणा गरेका हुन् । ‘मैले रोमाबाट राजीनामा दिएको छु । यस्तो दिन अब कहिल्यै नआओस् भन्ने आशा छ । मैले कहिल्यै राम्ररी काम गर्ने अवसर नै पाइनँ,’ राजीनामा घोषणाको पत्रकार सम्मेलनमा टोटीले भनेका छन् ।

उनले अघि थपे, ‘‘हरेक कुराभन्दा ठूलो रोमा हो । खेलाडी आउँछन्–जान्छन्, प्रशिक्षक आउँछन्–जान्छन्, व्यवस्थापक आउँछन्–जान्छन् । तर, क्लब कहीं जाँदैन । यो रंग र यो उत्साह कहीं जाँदैन ।’

करिअरको सम्पूर्ण समय रोमामा बिताएका टोटीले सन् १९९८ मा इटालीको राष्ट्रिय टिमबाट खेल जीवन सुरु गरेका थिए । उनले सन् १९९३ मा १६ वर्षको उमेरमा रोमाको सिनियर टिोलीबाट डेब्यु गरेका थिए ।

त्यसपछि लगातार रोमाबाट खेलेको उनले सन्यास लिँदासम्म ७८५ खेलमा ३०७ गोल गरे । उनले आफ्नो करिअर दौरान २००१ मा सिरी ए र दुईपटक कोपा इटालियाको उपाधि जिते ।

यता, टोटीले इटाली राष्ट्रिय टोलीबाट विश्वकपसमेत जिते । उनले टोलीका लागि ५८ खेल खेल्दै ९ गोल गरेका थिए ।

प्रकाशित मिति २ असार २०७६, सोमबार १५:२४
Loading...