अर्जेन्टिनाका प्रशिक्षकले भने– ‘खराब मैदानका कारण कोलम्बियासँग हार्‍यौं’

एजेन्सी, असार २
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार टिम अर्जेन्टिना पहिलो खेलमा कोलम्बियासँग २–० ले स्तब्ध बन्यो । खराब प्रदर्शन गरेको अर्जेन्टिना पहिलो खेलमै हारेपछि उसको अर्को चरणको यात्रामा झट्का लागेको छ ।

सो खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले आफूहरू हार्नुको मुख्य कारण खराब मैदान रहेको भन्दै मैदानलाई दोष दिएका छन् । खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै मैदानको खराब अवस्थाका कारण आफ्ना खेलाडीले खेल्न नसकेको उनले बताए ।

खेलपछि उनले भने, ‘हामी खेलेको मैदान ज्यादै खराब थियो । मेरा खेलाडीलाई खेल्न निकै सास्ती भएको थियो । यो मैदानमा फेरि खेल्दा पनि सजिलो हुनेछैन,’ स्कालोनीले भने, ‘विश्वस्तरीय खेलाडी खेल्ने मैदानको अवस्था साँच्चै लाजमर्दो थियो ।’

स्कालोनीले मैदानको अवस्था सुधार्नेतर्फ ध्यान दिन पनि आयोजकलाइै सुझाव दिए । ‘यस्तो ठूलो प्रतियोगिता हुने मैदान ठीकठाक हुनु जरुरी हुन्छ,’ उनले भने ।

आफ्नो पहिलो खेल नै हारेको अर्जेन्टिनाले अब दोस्रो खेल बिहीबार बिहान पराग्वेसँग खेल्दैछ । अर्जेन्टिनाले अर्को चरण जान अबका दुवै खेलबाट अंक जोड्न सक्नुपर्छ ।

प्रकाशित मिति २ असार २०७६, सोमबार १०:५४
Loading...