‘उचित मूल्य’मा पिएसजी नेइमार बेच्न तयार : गन्तव्य बार्सिलोना कि रियल ?

एजेन्सी, असार २
फ्रेन्च क्लब पिएसजी आफ्ना सुपरस्टार खेलाडी नेइमार बेच्न तयार भएको छ । सन् २०१७ मा स्पेनिस बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा अनुबन्ध भएका नेइमारका लागि स्पेनबाट आकर्षक अफर आए पिएसजीले ढोका खुला गरेको रिपोर्ट फ्रेन्च मिडियाले छापेका छन् ।

केही समयअघि फ्रान्सकै मिडियाले नयाँ सिजनमा नेइमार नयाँ क्लबमा नहुने र उनले आफू पुनः पिएसजी नफर्किने भनेर क्लबलाई जानकारी दिएको खबर बाहिरिएको थियो ।

युरोपियन च्याम्पियन्स लिग र बालोन डि‘ओर अवार्डलगायत ठूला उपाधि जित्ने उद्देश्यसहित नेइमार बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । तर, त्यहाँ पुगेपछि उनले यी कुनै पनि सफलता पाएनन् । बरु, उल्टै चोट, प्रतिबन्ध र विवादमा फसे ।

केही समयअघि कोपा अमेरिका खेल्न ब्राजिलको टोलीमा सामेल भएका नेइमार कतारसँग मैत्रीपूर्ण खेल खेल्नेक्रममा घाइते भएपछि उनी अहिले टोलीबाहिर रहेर उपचार गराइरहेका छन् ।

पिएसजीमा खास गरी केलियन एमबाप्पेको अवस्थाका कारण पनि क्लबले नेइमार बेच्ने बाटो खुला गरेको हो । केही समयअघि एमबाप्पेले आफू नयाँ चुनौतीका लागि पेरिसबाट निस्कन सक्ने बताएर क्लब छाड्ने जनाउ दिएका थिए ।

यो बताइन्छ कि, एमबाप्पेले पिएसजीमा तलब वृद्धिसहित फ्रि किक र पेनाल्टी हान्ने गरी मुख्य खेलाडीको भूमिका नपाए क्लब छाड्ने सम्भावना छ । नेइमार लगातार चोटबाट गुज्रिनु र उनी आफैंले पनि क्लब छाड्ने इच्छा गरेकाले पिएसजीले नेइमार बेचेर एमबाप्पेलाई टोलीको प्रमुख खेलाडी बनाउने विकल्प रोजेको हो ।

यदि नेइमारले क्लब छाडे र आफू मुख्य खेलाडी बन्ने अवस्था आए एमबाप्पे पिएसजीमा रहेनछन् । एमबाप्पे फ्रेन्च खेलाडीले नै भएकाले फ्यानहरूले पनि नेइमारभन्दा एमबाप्पेलाई चाहेको बताइन्छ ।

अब बार्सिलोना कि रियल ?

यदि पिएसजीले नेइमार बेचे उनी कहाँ जालान् ? यो धेरैका लागि चासोको विषय छ । पिएसजीले स्पेनबाट आकर्षक अफर आएमा नेइमार बेच्ने विकल्प खुला गरेपछि यो चर्चा बढेको छ ।

केही समयअघि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पूर्वसहकर्मी नेइमार फर्काउन क्लबलाई सुझाव दिएको र बार्सिलोनाले पनि सोहीअनुसार कदम चाल्ने तयारी गरेको रिपोर्ट स्पेनबाट आएको थियो । तर, बार्सिलोना यतिबेला फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउने दौडमा छ ।

यता, अघिल्लो सिजनबाटै रियल मड्रिड पनि नेइमार भित्र्याउन प्रयासरत छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई आफ्नो मुख्य योजनामा राखेका छन् । तर, बार्सिलोनाले नेइमारका लागि ढोका खुला गरे उनले रियलको प्रस्ताव स्वीकार्ने सम्भावना निकै न्यून रहेको बताइन्छ ।

प्रकाशित मिति २ असार २०७६, सोमबार ०५:४४
Loading...