युरो कप : स्पेनमाथि इटालीको सहज जित, बेल्जियम पोल्यान्डसँग स्तब्ध !

काठमाडौं, असार २
युइएफए च्याम्पियनसिप यु–२१ फुटबलमा पोल्यान्डले सुखद् सुरुआत गरेको छ । प्रतियोगिताअन्तगर्त गत राति भएको उद्घाटन खेलमा पोल्यान्डले बेल्जियमलाई ३–२ ले स्तब्ध बनायो ।

इटालीमा गत रातिबाट सुरु भएको प्रतियोगितामा समूह ‘ए’अन्तर्गत पोल्यान्डले बलियो टिम बेल्जियमलाई निराश बनायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पछि परेको स्थिति उल्टाएर पोल्यान्डले खेल जित्यो । बेल्जियमले खेलको १६औं मिनेटमा आरो लेया इसेकाको गोलबाट अग्रता लिएको थियो ।

तर, त्यसपछि पोल्यान्ड खेलमा फर्कियो । उसका लागि खेलको २६औं मिनेटमा साइजमोन जुर्कोस्कीले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि ५२औं मिनेटमा क्रिस्टिएन बेइलिकले गोल गरे भने ७९औं मिनेटमा सेबिस्टएनले गोल गर्दै पोल्यान्डलाई ३–१ को लिड दिए ।

तर, खेलको ८४औं मिनेटमा बेल्जियमका लागि डायोन कुल्सले गोल गरेर खेल ३–२ बनाए । त्यसपछि बेल्जियमले थप गोल गर्न नसक्दा खेल पोल्यान्डले ३–२ ले जित्यो ।

यो जितसँग पोल्यान्डले पहिलो खेलबाट ३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थान लिएको छ ।

गत राति नै भएको अर्को खेलमा आयोजक इटालीले बलियो टिम स्पेनलाई ३–१ ले निराश बनायो । यस खेलमा स्पेनले नवौं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ड्यानी सबालोसले सो गोल गरेका थिए ।

तर, त्यसपछि इटालीले लगातार ३ गोल हानेर खेल जित्यो । जहाँ उसका लागि खेलको ३६ र ६४औं मिनेटमा गरी २ गोल फेडरिको चिएसाले गरे भने खेलको ८२औं मिनेटमा लोरेन्जोले पेनाल्टीबाट गोल गरेपछि खेल इटालीले ३–१ ले जित्यो ।

यो जितपछि इटाली ३ अंकसहित आफ्नो समूहको सबैभन्दा सिरानमा बसेको छ । पराजित स्पेन सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति २ असार २०७६, सोमबार ०४:१६
Loading...