कोपा अमेरिका : १० खेलाडीमा सीमित इक्वेडरमाथि उरुग्वेको फराकिलो जित !

काठमाडौं, असार २
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार टिम उरुग्वेले फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको पहिलो खेलमा उसले इक्वेडरमाथि ४–० को फराकिलो जित निकालेको हो ।

उरुग्वेको जितमा ३ जना फरक–फरक खेलाडीले गोल गरे भने एक गोल उपहारमा पाएको थियो । त्यसअघि इक्वेडर खेलको २४औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेका थिए ।

उरुग्वेका लागि खेलको छैटौं मिनेटमै निकोलास लोडेरियाले पहिलो गोल गरेका थिए । त्यसपछि इक्वेडर २४औं मिनेटमा १० खेलाडीमा खुम्चिएपछि एकतर्फी दबाब बढाउन थालेको उरुग्वेका लागि खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक गोल गर्दै टिमलाई २–० ले अघि बढाए ।

फेरि खेलको ४४औं मिनेटमा लुइस स्वारेजले टिमका लागि तेस्रो गोल गर्दै पहलो हाफमा ३–० को सहज अग्रता दिलाए ।

दोस्रो हाफमा गोलको खोजीमा रहेको इक्वेडर अझै दबाबमा आयो । उरुग्वेबाट लगातार आक्रमण खेपेको उसले ७८औं मिनेटमा आत्मघाती गोल हान्यो । बक्सभित्र बल क्लियर गर्नेक्रममा अर्टुरो मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि खेल उरुग्वेले ४–० ले जित्यो ।

अब यो जितपछि उरुग्वेले पहिलो खेलबाट ३ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थान लिएको छ । पराजित इक्वेडर पुछारमा छ भने चिली र जापानले भोलि बिहान आफ्नो पहिलो खेल खेल्दैछन् ।

प्रकाशित मिति १ असार २०७६, आईतवार २३:५९
Loading...