बालोन डि‘ओरमाथि रोनाल्डोको दाबेदारी : लेखे यस्तो पत्र !

एजेन्सी, असार १
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि सिजन २०१८÷१९ विगत वर्षहरूजस्तो भव्य हुन सकेन । स्पेनिस रियल मड्रिड छाडेर युभेन्टस पुगेका उनले पहिलो सिजन घरेलु लिग सिरी ‘ए’ र सुपरकोपा इटालियाको उपाधि जिते । दुवै उपाधि जित्दा उनले टोलीका लागि महत्त्वपूर्ण योगदान दिए । कूल २८ गोल गरेर १२ गोलका लागि असिस्ट गरे ।

त्यत्ति मात्रै हैन, उनी घरेलु लिगमा सिजनकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । यता, दुई साताअघि मात्रै रोनाल्डोले आफ्नै कप्तानीमा पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि जिताए । देशलाई दोस्रोपटक ठूलो उपाधि जिताउनेक्रममा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्दै निर्णायक खेलाडी बने । तर, नयाँ क्लबमा बिताएको पहिलो सिजन अन्य तथ्यांकका हिसाबले रोनाल्डोको स्तरसुहाउँदो भने हुन सकेन ।

यी सबैका बावजुत पनि रोनाल्डो सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि प्रमुख दाबेदारको सूचीमा छैनन् । उनीभन्दा अगाडि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीको नाम छ ।

तर, रोनाल्डो स्वयंले भने आफूलाई यसपटक पनि बालोन डि‘ओरका लागि प्रमुख दाबेदारका रूपमा पेश गरेका छन् । उनले सोझै ‘बालोन डि‘ओ मैले जित्छु’ भनेर नभने पनि सामाजिक सन्जाल इन्स्टाग्राममा एक पत्र लेख्दै घुमाउरो पारामा आफूले भव्य सिजन बिताएको भन्दै सिजन २०१८÷१९ र वर्ष २०१९ को यहाँसम्म पाएका उपलब्धि अन्य खेलाडीको भन्दा धेरै रहेको सन्देश दिएका छन् ।

उनले क्लब र फ्यानहरूलाई समेत सम्बोधन गर्दै आफूले भव्य सिजन बिताएको र नयाँ क्लबमा उल्लेख्य सफलता पाएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

यस्तो छ रोनाल्डोले इन्स्टाग्राममा लेखेको पत्र :

एक अविष्मरणीय सिजन । नयाँ अनुभव । विशाल क्लब, उत्प्रेरक सहर । रेकर्ड निर्माण अनि भंग । र, अरू थुप्रै सफलता ।

म युभेन्टसका सम्पूर्ण फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई इटालीमा न्यानो र सुन्दर स्वागत दिए । तपाईंहरू हाम्रो सफलताको एक महत्त्वपूर्ण पक्ष हुनुहुन्छ । विश्वभरि रहेका साथै खास गरी मेरा पोर्चुगिज समर्थकहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु, जसले मलाई अर्को अन्तर्राष्ट्रिय उपाधि जिताउन सघाए । तपाईंहरूका लागि मेरा दिलमा सधैं विशेष स्थान हुनेछ ।

व्यक्तिगत रूपमा मैले यहाँ बिताएका व्यापक र मिठा क्षणहरू कहिल्यै बिसर्नेछैन । साथै वर्ष २०१९ मा मैले थुप्रै अद्भुत रेकर्डहरू बनाएँ, केही तोडिए …..

पत्रमा यति लेखेका रोनाल्डोले वर्ष २०१९ मा आफूले पाएका प्रमुख सफलता र बनाएका प्रमुख रेकर्डबारे एक–एक बुँदा उल्लेख गरेका छन्, जुन यस्ता छन् :

– इटालियन सुपरकोपामा विजयी गोल,
– सिरी ‘ए’ विजेता, २१ गोलसहित सिजनको उत्कृष्ट खेलाडी,
– नेसन्स लिग विजेता, महत्त्वपूर्ण ह्याट्रिक,
– च्याम्पियन्स लिगमा १०० खेल जित्ने पहिलो खेलाडी, च्याम्पियन्स लिगमा १२५ गोलसहित ।
– युइएफएका १० उपाधि जित्ने पहिलो खेलाडी ।
– अन्तर्राष्ट्रिय फुटबलअन्तर्गत फिफा विश्वकप, युइएफए युरोपियन कप, फिफा कन्फेडेरेसन्स कप र युइएफए नेसन्स लिगका नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी
– सन् २००४ देखि २०१९ सम्म राष्ट्रिय टिमबाट लगातार १० नकआउट चरणका खेलमा गोल गर्ने पहिलो खेलाडी ।

चाँडै भेटौंला । हामी नयाँ चुनौती र अद्भुत विजयका लागि फेरि सँगै संघर्ष गर्नेछौं । म ती दिनको प्रतीक्षामा छु ।

प्रकाशित मिति १ असार २०७६, आईतवार १५:३९
Loading...