युइएफए च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा पोल्यान्ड र बेल्जियम भिड्दै

काठमाडौं, असार १
युइएफएले आयोजना गर्ने युरोपियन च्याम्पियनसिप यु–२१ फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । युरोपियन देशबाट २१ वर्षभन्दा मुनि उमेर समूहका टिमको यो प्रतियोगिता २२ वर्षदेखि हुँदै आएको छ ।

यसपटक यस प्रतियोगिता जुन १६ देखि जुन ३० सम्म इटालीका विभिन्न ६ सहरमा आयोजना हुँदैछ । यसपटक कूल १२ टिमले यस प्रतियोगितामा उपाधिका लागि भिडन्त गर्दैछन् । प्रतियोगिता इटालीले आयोजना गरेको हो । प्रतियोगितामा आयोजक इटालीसहित जर्मनी, इंग्ल्यान्ड, स्पेन, डेनमार्क, फ्रान्स, सर्बिया, क्रोएसिया, बेल्जियम, अस्ट्रिया, पोल्यान्ड र रोमानिायाले प्रतिस्पर्धा गर्दैछन् ।

जसमा समूह ‘ए’मा आयोजक इटालीसहित स्पेन, पोल्यान्ड र बेल्जियम रहेका छन् । समूह ‘बी’मा जर्मनी, डेनमार्क, सर्बिया र अस्ट्रिया रहेका छन् । समूह ‘सी’मा इंग्ल्यान्ड, फ्रान्स, रोमानिया र क्रोएसिया रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’का पोल्यान्ड र बेल्जियम भिड्दैछन् । यो खेल आज राति १०ः१५ बजेबाट सुरु हुँदैछ ।

आजै हुर्ने अर्को खेलमा सोही समूहबाट इटाली र स्पेन खेल्दैछन् । खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १ असार २०७६, आईतवार १२:२५
Loading...