‘कोलम्बियासँग हारेपछि’ फ्यानहरूसँग मेस्सीले गरे यस्तो अनुरोध

काठमाडौं, असार १
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना आज बिहान समूह चरणको पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भयो । प्रमुख उपाधि दाबेदारमध्येको एक टिम अर्जेन्टिनाले खराब प्रदर्शन गर्दा पहिलो खेलमै ऊ नमिठो हारको सिकार भयो ।

सो खेलपछि अर्जेन्टिनी टोलीका प्रशिक्षक लिओनल स्कालोनी र कप्तान मेस्सीको आलोचना बढेको छ । महत्त्वपूर्ण प्रतियोगितामा टिमले खराब प्रदर्शन गरेको भन्दै उनीहरूले कोलम्बियाविरुद्धको प्रदर्शनलाई लिएर चर्को असन्तुष्टि जाहेर गरेका छन् ।

तर, सो खेलपछि कप्तान मेस्सीले भने यो आलोचना र दोष लगाउने समय नभएको भन्दै सबैलाई एक हुन अनुरोध गरेका छन् । खेलपछि मिडियालाई प्रतिक्रिया दिँदै उनले कोलम्बियाविरुद्धको हार पीडादायी रहेको बताउँदै टिम थप थप एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

‘अवश्य पनि, यो हामीले चाहेजस्तो सुरुआत थिएन । तर, हामीले नतिजा स्वीकार्नैपर्छ । हामीले यसको जिम्मा लिनुपर्छ र शिर उठाएर फेरि संघर्ष गर्नुपर्छ,’ मेस्सीले भने ।

खेलाडीले एकअर्कालाई दोष नलगाई वा गुनासो नगरी एक हुनुपर्ने मेस्सीले बताए । ‘यो हामीले गुनासो गर्ने वा आफैं आत्मआलोचित हुने समय होइन । दुई खेल बाँकी छन् । र, अब आगामी खेलमा केन्द्रित हुनुपर्छ,’ मेस्सीले थपे ।

उनले फ्यानहरूलाई निराश नहुन पनि आग्रह गरे । ‘यो नतिजबाट हाम्रा समर्थकहरू खुसी हुनुहुन्न, यो हामीलाई थाहा छ । तर, मैदान उत्रेपछि नतिजा स्वीकार्नुपर्छ,’ मेस्सीले भने, ‘हामीसँग अझै खेल र समय बाँकी छ । सबैलाई धैर्य गर्न अनुरोध छ । आलोचना गर्नुको साटो यो बेला टिमलाई हौसला दिनुहोस् ।’

मेस्सीले कोपामा सबै बलिया टिम भएकाले कसैलाई कमजोर ठान्न नहुने पनि बताए । ‘यहाँ १२ टिम छन् । जो सबै उपाधि जित्न चाहन्छन् । किनभने, सबैसँग टिम र योजना छन्,’ मेस्सीले भने, ‘हामी सबैको सम्मान गर्छौं । र, हामी अन्तिम समयसम्म उपाधिका लागि लड्छौं ।’

मेस्सी सन् २०१८ मा रसियामा भएको विश्वकपपछि पहिलोपटक अफिसियल प्रतियोगिामा राष्ट्रिय टिमबाट खेल्दैछन् । तर, उनको पुनरागमन भएको खेलमै अर्जेन्टिना पराजित भयो । यसअघि दुई मैत्रीपूर्ण खेलमा मेस्सी खेलेकोमा भेनेज्वेलासँग ३–१ ले हारेको थियो भने अघिल्लो साता भएको खेलमा निकारागुवालाई ५–० ले हराएको थियो । पहिलो हाफ मात्रै खेलेका मेस्सीले सो खेलमा २ गोल गरेका थिए ।

कोपाको समूह चरणमा जम्मा तीन खेल हुन्छन् । अर्जेन्टिनाले अब कतार र पराग्वेसँग खेल खेल्न बाँकी छ । यी दुई खेलमा नतिजा निकालेर अर्जेन्टिनामाथि अर्को चरण जानुपर्ने दबाब बढेको छ । तुलनात्मक रूपमा कतार कमजोर टिम भए पनि पराग्वे अहिले निकै राम्रो लयमा छ ।

अर्जेन्टिनाले अब ४ दिनपछि पराग्वेसँग दोस्रो र अर्को साता कतारसँग अन्तिम खेल खेल्नेछ । कोपामा तीन समूहबाट शीर्ष दुई टिम सोझै क्वार्टरफाइनल पुग्छन् भने तीनवटै समूहबाट तेस्रो स्थानमा रहेका तीन टिममध्येबाट दुई उत्कृष्ट टिमले पनि क्वार्टरमा स्थान बनाउँछन् ।

अर्जेन्टिनाले अबका दुवै खेल जिते ऊ शीर्ष दुईमा रहेर क्वार्टरमा पुग्छ भने फेरि पराजित भए उसको चरण संकटमा पर्नेछ ।

प्रकाशित मिति १ असार २०७६, आईतवार ११:०१
Loading...