ब्राजिलबाट ‘बार्सिलोनाका फ्यान’लाई कोउटिन्होको यस्तो सन्देश

एजेन्सी, असार १
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले आफ्नो पहिलो खेलमा बोलिभियालाई ३–० ले हरायो । सो खेलमा ब्राजिलको जितमा फिलिपे कोउटिन्होले नायक बने । उनले २ गोल गरे ।

सिजन २०१८/१९ मा बार्सिलोनामा खराब सिजन बिताएका उनले राष्ट्रिय टिममा शानदार कमब्याक देखाएका छन् । उनले पहिलो खेलबाटै २ गोल गरेर आफू अझै पनि लयमा रहेको जनाउ दिए । बार्सिलोनामा बिताएको सिजनपछि उनको चर्को आलोचना भएको थियो ।

बोलिभियालाई हराउनेक्रममा २ गोल गरेका उनले खेलपछि मिडियासँग कुरा गर्दै बार्सिलोनाका फ्यानहरूलाई पनि सन्देश दिए । ‘बार्सा फ्यानहरूलाई मैले धेरै भन्नु छैन । मलाई माया गर्ने र समर्थन गर्नेहरूप्रति म सधैं आभारी छु । यस सिजन मैले त्यहाँ निकै कठिन समय बिताएँ,’ कोउटिन्होले भने ।

कोउटिन्होले बार्सिलोनाका फ्यानहरूले अपेक्षा गरेजस्तो आफूले दिन नसकेको पनि स्वीकारे । ‘माया गर्नेलाई आलोचना गर्ने अधिकार पनि हुन्छ । उनीहरूले अपेक्षा गरेजस्तो बार्सिलोनामा मैले दिन सकेको छैन,’ कोउटिन्होले थपे, ‘तर, फुटबलमा सधैं सुधार र अभ्यास चलिरहन्छ । म त्यसका लागि प्रयासरत छु ।’

सिजन २०१८/१९ मा कोउटिन्होले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५३ खेल खेल्दै ११ गोल गरेर २ गोलका लागि असिस्ट गरेका थिए ।

प्रकाशित मिति १ असार २०७६, आईतवार ०४:५३
Loading...