काठमाडौं, असार १
युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेर इतिहास रचेको छ । गत राति पोल्यान्डमा भएको फाइनल खेलमा उसले साउथ कोरियालाई ३–१ ले निराश बनाउँदै उपाधि चुम्यो ।
यससँगै युक्रेले इतिहासमै पहिलोपटक यो उमेर समूहको विश्वकप जितेको छ । यस प्रतियोगिताको फाइनलमा युक्रेन र कोरिया इतिहासमै पहलिोपटक भिडेका थिए ।
खेलमा अग्रता भने कोरियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा पाएको पेनाल्टीमा ली काङ–इनले गोल गर्दै कोरियालाई १–० को अग्रता दिलाएका थिए ।
तर, त्यसपछि युक्रेनले खेलमा शानदार पुनरागमन गर्न सफल भयो । उसका लागि खेलको ३४औं मिनेटमा सुप्रिहाले बराबरी गोल गरे । उनको गोलको मदतमा पहिलो हाफ १–१ मा टुंगियो ।
त्यसछि दोस्रो हाफमा पनि युक्रेनले थप गोल हान्यो । उसका लागि खेलको ५२औं मिनेटमा सुप्रिहाले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–१ बनाए ।
त्यसपछि खेलको ८९औं मिनेटमा युक्रेनले तेस्रो गोल हान्यो । हेओरीले गरेको सो गोलसँगै युक्रेनले खेल ३–१ को सहज जित निकाल्दै उपाधि जित्यो ।
प्रकाशित मिति १ असार २०७६, आईतवार ०१:११