कोपा अमेरिका : अर्जेन्टिनाको खराब सुरुआत, कोलम्बियाले चखायो नमिठो हार !

काठमाडौं, असार १
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार लिओनल मेस्सीको टिम अर्जेन्टिनाले खराब सुरुआत गरेको छ । नेपाली समयअनुसार बिहान भएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २–० को नमिठो हार चखायो ।

यससँगै प्रमुख उपाधि दाबेदार अर्जेन्टिनालाई पहिलो खेलमै नमिठो झट्का भोगेको छ । स्टार खेलाडी लिएर मैदान उत्रिएको उसले खेलभरि १ गोल पनि गर्न नसक्दा महत्त्वपूर्ण ३ अंक गुमायो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा तुलनात्मक रूपमा कोलम्बियाले बढी आक्रमण गर्दा अर्जेन्टिनाले गोलका लागि गतिला मुभ नै बनाउन सकेन ।

दोस्रो हाफमा सुरुबाटै केही आक्रामक देखिएको अर्जेन्टिनाले केही गोलका अवसर बनायो । तर, कप्तान मेस्सीका तीन प्रहार कोलम्बियाका गोलरक्षकले बचाएका थिए । अर्जेन्टिनाका अन्य फरवार्ड चलेनन् ।

तर, खेलको ७१औं मिनेटमा खेलमा कोलम्बियाले अग्रता लियो । रोजर मार्टिन्जले अर्जेन्टिनाका २ जना डिफेन्डरलाई बिट गर्दै बक्सको लाइनबाट हानेको प्रहारले दर्शनीय रूपमा सोझै जाली चुमेपछि कोलम्बियाले खेलमा १–० ले अग्रता लियो ।

त्यसपछि बराबरी गोलको खोजीमा रहेको अर्जेन्टिना त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला सब्सिच्युट खेलाडी डुभान जापाटले टोलीका लागि दोस्रो गोल थपे । त्यसपछि बाँकी समयमा अर्जेन्टिनाले गोल फर्काउन सकेन । र, खेल कोलम्यिबलो २–० ले जित्यो ।

यससँगै कोलम्बियाले समूह ‘बी’मा पहिलो खेल जितेर ३ अंक बटुलेको छ । पराजित अर्जेन्टिना सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति १ असार २०७६, आईतवार ००:०३
Loading...