बसन्तपुर क्षेत्रमा बार्सा फ्यानहरूको भेला, सामाजिक काम गर्ने अठोट !

काठमाडौं, जेठ ३२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपाली समर्थहरूले काठमाडौंमा पहिलोपटक औपचारिक जमघट कार्यक्रम गरेका छन् । आज काठमाडौंको पर्यटकीय बसन्तपुर क्षेत्रमा भेला भएका उनीहरूले अन्तक्र्रियात्मक कार्यक्रम गरेका हुन् ।

जमघट कार्यक्रम ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नामक फेसबुक ग्रुपले आयोजना गरेको हो । नेपाली समर्थकहरूको सबैभन्दा ठूलो सो फेसबुक समूहमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य छन् ।

जमघट कार्यक्रममा करिब ३०० भन्दा बढी फ्यानहरू सहभागी भएका थिए । काठमाडौं उपत्यका क्षेत्रका समर्थकहरू सहभागी कार्यक्रममा आगामी दिनमा नेपालको फुटबल क्षेत्रको विकासमा सामूहिक कार्य गर्नेबारे छलफल भएको फेसबुक ग्रुपका प्रमुख कविराज श्रेष्ठले बताए ।

त्यसैगरी, आगामी दिनमा विभिन्न सामाजिक क्षेत्रमा समेत सामूहिक रूपमा काम गर्नेबारे पनि छलफल भएको उनले बताए । ‘हामी अहिलेसम्म फेसबुक ग्रुपको दायरामा मात्रै सीमित थियौं । तर, अब भने त्यहाँभन्दा बाहिर आएर नेपाली फुटबलको विकासमा पनि केही गर्न सकिन्छ कि भनेर लागेका छौं,’ प्रमुख श्रेष्ठले भने, ‘अन्य सामाजिक क्षेत्रमा समेत काम गर्ने हाम्रो योजना छ ।’

सोही कार्यक्रमबाट ‘केटिएम स्पोर्टस् जोन’ ले फेसबुक ग्रुपलाई आगामी सिजनभरिका लागि जर्सी प्रायोजन गर्ने सम्झौतासमेत गरेको छ । प्रमुख श्रेष्ठका अनुसार फेसबुक ग्रुपमा बार्सिलोनाका हरेक खेलअघि स्कोर अनुमान (म्याच प्रेडिक्ट) गर्न दिइने छ । र, मिलाउनेमध्ये एकजनालाई जर्सी पुरस्कारस्वरूप दिइनेछ ।

सिजन २०१९÷२० भरि बार्सिलोनाका हरेक खेलमा म्याच प्रेडिक्ट विनरलाई ‘केटिएम स्पोर्टस् जोन’ले एक थान जर्सी प्रायोजन गर्ने बताइएको छ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७६, शनिबार १२:०५
Loading...