कोपा अमेरिका : ब्राजिलको शानदार विजयी सुरुआत, चम्किए कोउटिन्हो !

काठमाडौं, जेठ ३२
आफ्नो भूमिमा आयोजना भएको ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुआत गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले पाहुना टोली बोलिभियालाई ३–० ले स्तब्ध बनायो ।

चोटका कारण आफ्ना स्टार फरवार्ड नेइमारबिनै खेलिरहेको ब्राजिलको जितमा स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो नायक बने । उनले टिमलाई जिताउन पहिलो खेलमै व्यक्तिगत २ गोल गरेर आफ्नो प्रभाव देखाए ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलले बोलिभियाको रक्षापंक्ति तोड्न सफल भयो । जहाँ उसका लागि खेलको ५०औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत् गोल गर्दै प्रतियोगिताकै पहिलो तथा टिमका लागि पनि पहिलो गोल गरे ।

बक्सभित्र ब्राजिलका खेलाडीले हानेको बल सोझै बोलिभियाका खेलाडीको हातमा लागेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए । जसमा कोउटिन्होले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

पहिलो गोल गरेको ३ मिनेटपछि नै कोउटिन्होले अर्को गोल गरे । बक्सभित्र मैदानको माथिल्लो भागबाट रोवर्ट फर्मिन्होले दिएको आकर्षक पासमा कोउटिन्होले सजिलै हेडिङमार्फत् गोल गरेर टिमलाई २–० को सहज अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा डेभिड नेरेशको स्थानमा मैदान छिरेका खेलाडी एभर्टन सोआरेजले बक्सबाहिरबाट बोलिभियाका ३ जना डिफेन्डरलाई छलाउँदै दर्शनीय गोल गरेपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

यससँगै समूह ‘ए’मा रहेको ब्राजिलले पहिलो खेलमा स्पष्ट जित निकालेर खातामा ३ अंक जोड्न सफल भएको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित बोलिभया सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७६, शनिबार ०२:१९
Loading...