कोपा अमेरिका भोलि बिहानबाट : उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै

काठमाडौं, जेठ ३१
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४६औं संस्करण नेपाली समयअनुसार भोलि (शनिबार) बिहान बाट ब्राजिलमा सुरु हुँदैछ । यसपटक प्रतियोगिामा १२ देशले भिडन्त गर्दैछन्

जसमा अमेरिकी क्षेत्रका १० टिम छन् भने दुई आगन्तुक टिम छन् । पूर्वी एसियाली देश जापान र सन् २०२२ को विश्वकप आयोजक मध्य पूर्वी कतारलाई यसपटक पाहुना टोलीका रूपमा प्रवेश दिइएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रमुख उपाधि दाबेदार मानिएको तथा प्रतियोगिता आयोजक टोली ब्राजिल र बोलिभिया भिड्दैछन् । उद्घाटन खेल ब्राजिलको मोरुम्बी जिल्लाको साओ पाउलोस्थित सिसेरो पोम्पेउ डे तोलेडो स्टेडियममा नेपाली समयअनुसार भोलि (शनिबार) बिहान ठीक ६ः१५ बजेबाट सुरु हुनेछ ।

उद्घाटन खेललाई विशेष बनाउने तयारी आयोजकले गरेको छ । सो खेलअघि औपचारिक कार्यक्रम र प्रस्तुतिसमेत रहनेछ ।

उद्घाटन खेलपछि अर्को दिन दुई खेल हुनेछन् । जसमा आइतबार बिहान भेनेज्वेला र पेरु भिड्दा सोही दिन हुने अर्को खेलमा अर्जेन्टिना र कोलम्बियाको खेल हुनेछ ।

उद्घाटन खेल खेल्न लागेका ब्राजिल र बोलिभिया समूह ‘ए’मा छन् । सो समूहमा ब्राजिल र बोलिभियाबाहेक पेरु र भेनेज्वेला छन् ।

प्रतियोगिताका कूल १२ टिमलाई तीन समूहमा राखिएको छ । जहाँ हरेक समूहमा चार–चार टिम छन् । समूह चरणबाट ८ टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

जसमा तीन समूहबाट शीर्ष दुई टिमले सोझै क्वार्टरमा प्रवेश पाउँछन् भने सबै समूहको तेस्रो स्थानमा रहनेमध्येबाट पनि उत्कृष्ट दुई टिमलाई क्वार्टरमा स्थान दिइनेछ ।

यसपटक प्रतियोगितमामा आयोजक ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उापधि दाबेदारका रूपमा हेरिएको छ । अघिल्लो संस्करण चिलीले जितेको थियो भने अर्जेन्टिना उपविजेता बनेको थियो ।

आफ्नो भूमिमा आयोजना भइरहेको कोपामा यसपटक ब्राजिल आफ्ना सुपरस्टार खेलाडी नेइमारबिनै खेल्दैछ । नेइमार केही दिनअघि मात्रै कतारसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएपछि टोलीबाहिर रहेका थिए ।

नेइमार घाइते भएपछि उनको स्थानमा अट्याकिङ मिडफिल्डर विलियनलाई टोलीमा स्थान दिइएको छ । ब्राजिल भोलि बिहान हुने उद्घाटन खेलमा स्पष्ट जिते निकालेर उपाधि यात्राको सुखद् सुरुआत गर्ने दाउमा छ ।

प्रकाशित मिति ३१ जेष्ठ २०७६, शुक्रबार १४:३०
Loading...