फिफा वरीयतामा नेपाल चार स्थान घटुवा : कसको स्थान कहाँ ?

काठमाडौं, जेठ ३१
विश्व फुटबल महासंघ फिफाले नयाँ वरीयता जारी गरेको छ । उसले जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान घटुवा भएको छ ।

नयाँ वरीयतामा अघिल्लो महिनाभन्दा चार स्थान तल झरेको नेपाल १६५औं स्थानमा पुगेको छ । नेपाल यसअघि १६१औं स्थानमा थियो ।

नेपालले यसै महिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत मलेसिया र चाइनिज ताइपेईसँग गरी दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेर एक खेलमा बराबरीमा रोकिएको थियो ।

सार्वजनिक नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियाली क्षेत्रमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् ।

यता, विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमै कायम छ । त्यसपछि फ्रान्स दोस्रोमा, ब्राजिल तेस्रोमा, इंङ्ल्यान्ड चौथोमा छ भने हालसालै युइएफए नेसन्स लिग जितेको पोर्चुगल पाँचौंमा उक्लिएको छ ।

प्रकाशित मिति ३१ जेष्ठ २०७६, शुक्रबार १२:५३
Loading...