कसले जित्ला कोपा अमेरिका ? सर्वेक्षणले यसो भन्छ

एजेन्सी, जेठ ३१
नेपाली समयअनुसार भोलि (शनिबार बिहान) ब्राजिलमा कोपा अमेरिका फुटबल सुरु हुँदैछ । प्रतियोगितामा यसपटक साबिक उपविजेता अर्जेन्टिना र ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ ।

दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यसपटक को च्याम्पियन बन्ला ? यसमा सबैले आ–आफ्नै दाबी र भविष्यवाणी दिइरहेका छन् ।

यस्तैक्रममा चर्चित संस्था ‘ओड्स’ले एक अध्यन÷सर्वेक्षण सार्वजनिक गरेको छ । जसमा ब्राजिललाई यसपटक कोपामा सबैभन्दा बलियो उपाधि दाबेदार टिम मानिएको छ ।

आफ्ना फुटबल विशेषज्ञको टिम, फ्यानहरूको मत र कोपा खेल्ने १२ वटै टिमको मूल्यांकनबाट सो सर्वेक्षण तयार पारिएको हो । प्रतिवेदनको सबैभन्दा पुछार १२औं स्थानमा भने पाहुना टोली कतार रहेको छ ।

‘ओड्स’ले टिमका विभिन्न पक्षको मूल्यांकन तथा विश्लेषणबाट ब्राजिललाई उपाधि जित्न सक्ने पहिलो दाबेदार टिम मानेको छ ।

त्यसपछि दोस्रो नम्बरमा लिओनल मेस्सीको टिम अर्जेन्टिना छ । साबिक उपविजेता अर्जेन्टिनालाई फुटबल समर्थकहरूले दोस्रो दाबेदार टिम मानेका छन् ।

त्यसपछि तेस्रो नम्बरमा इतिहासमै सर्वाधिक धेरै १५ पटक कोपा जितेको उरुग्वे छ । उसलाई फ्यानहरूले तेस्रो उपाधि दाबेदार टिम मानेका छन् ।

त्यसपछि पछिल्ला दुई संस्करण ब्याक टु ब्याक उपाधि जितेको चिलीलाई फ्यानहरूले चौथो नम्बरमा राखेका छन् ।

यसपटक कोपामा कूल १२ देशले प्रतिस्पर्धा गर्दैछन् । जसमा दक्षिण एसियाबाट जापान र मध्यपूर्वी क्षेत्रबाट कतार पाहुना टोलीका रूपमा सहभागी छन् ।

प्रकाशित मिति ३१ जेष्ठ २०७६, शुक्रबार ०९:०२
Loading...