ब्राजिलियन लिजेन्ड भन्छन्– ‘ब्राजिललाई कोपा अमेरिका जित्न मेस्सी प्रमुख चुनौती’

एजेन्सी, जेठ ३१
ब्राजिलको स्थानीय समयअनुसार आज रातिबाट कोपा अमेरिका फुटबल सुरु हुँदैछ । १२ देशले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा यसपटक आयोजक देश ब्राजिलसहित उरुग्वे र अर्जेन्टिनालाई प्रमुख दाबेदार मानिएको छ ।

सो प्रतियोगिता सुरु हुनुअघि ब्राजिलका लिजेन्ड खेलाडी जिकोले यसपटक ब्राजिल उपाधिका लागि सबैभन्दा प्रमुख दाबेदार रहेको बताएका छन् । तर, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी सम्मिलित अर्जेन्टिना ब्राजिलका लागि चुनौती बन्नसक्ने उनले विश्लेषण गरेका छन् ।

एक अन्तर्वार्ताक्रममा कुरा गर्दै जिकोले यदि मेस्सीले बार्सिलोनामा जस्तै अर्जेन्टिनी टिममा पनि उच्च लय समाते त्यो ब्राजिलको उपाधि जित्ने सपनामा बाधक बन्ने बताएका छन् । ‘मेरो हिसाबमा ब्राजिल सबै हिसाबले उपाधिका लागि दाबेदार टिम हो । किनभने, उनीहरूसँग हरेक पोजिसनबाट खेल्न एकसे एक खेलाडी छन्,’ जिकोले भने ।

तर, ब्राजिलको उपाधि यात्रामा मेस्सी खतरनाक हुनसक्ने बताए । ‘मेस्सीको पछिल्लो अवस्था सुध्रिएको छ । यदि उनी उच्च लयमा रहे भने अर्जेन्टिनाले अरूलाई समस्यामा पार्नेछ,’ जिकोले भने, ‘यदि ब्राजिललाई कसैबाट सबैभन्दा बढी चुनौती छ भने उनी मेस्सी हुन् ।’

जिकोले यसपटक साबिक विजेता चिली, उरुग्वे र जापान पनि बलियो स्थितिमा रहेको बताए । ‘मेरो हिसाबमा अहिले पछिल्ला दुई सिजन उपाधि जितेको चिली, उरुग्वे र जापानसमेत उपाधि दौडमा हुनेछन्,’ जिकोले भने ।

प्रकाशित मिति ३१ जेष्ठ २०७६, शुक्रबार ०४:५७
Loading...