‘मेस्सीले कोपा अमेरिका नजिते बोलान डि‘ओर जित्दैनन्’

एजेन्सी, जेठ ३०
सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । भान डाइकले लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण योगदान दिएका दिएका थिए भने मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिँदै सिजनमा ५१ गोल गरेका थिए । उनले सन् २०१९ मा कूल ३० गोल गरेका छन् ।

यी दुई तथ्यांकबाट यसपटक मेस्सी र भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । तर, बार्सिलोना च्याम्पियन्स लिगमा हार्नु र लिभरपुलले उपाधि जितेकाले भान डाइकलाई हालको अवस्थामा सबैभन्दा प्रमुख दाबेदार मानिएको छ । विभिन्न तथ्यांक तथा सर्वेक्षणहरूमा भान डाइक मेस्सीभन्दा अगाडि रहँदै आएका छन् ।

तर, भोलिबाट ब्राजिलमा कोपा अमेरिका फुटबल सुरु हुँदैछ । मेस्सी अर्जेन्टिनी टोलीबाट सो प्रतियोगिता खेल्दैछन् । यसपटक कोपामा अर्जेन्टिना, ब्राजिल तथा उरुग्वेलाई प्रमुख दाबेदार मानिएको छ ।

यसैक्रममा लिभरपुलका खेलाडी जोर्डन हेन्डर्सनले मेस्सीले बालोन डि‘ओर जित्ने अन्तिम अस्त्र भनेको कोपा अमेरिका रहेको बताएका छन् । यदि अर्जेन्टिना सो प्रतियोगिता जित्न असफल भए मेस्सी बालोन डि‘ओरबाट टाढा पुग्ने बताए ।

‘भर्खरै सकिएको सिजनमा भान डाइकले उच्च प्रदर्शन गरेका छन् । बालोन डि‘ओर जित्न उनले जे चाहिन्छ, त्यो गरिसकेका छन्,’ हेन्डर्सनले भने, ‘उनी मेस्सीभन्दा अगाडि छन् ।’

एक अन्तर्वार्तामा बोल्दै हेन्डर्सनले अघि थपे, ‘मेस्सीसँग अझै पनि कोपा अमेरिका जितेर बालोन डि‘ओर जित्ने समय छ । तर, असफल भए उनी बालोन डि‘ओरमा पनि असफल हुनेछन् ।’

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार १०:५६
Loading...