म मेरा लागि भन्दा पनि मेस्सीका लागि कोपा अमेरिका जित्न चाहन्छु : अगुएरो

एजेन्सी, जेठ ३०
अर्जेन्टिनाका फरवार्ड सर्जियो अगुएरोले यसपटक आफूले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन शतप्रतिशत योगदान दिने बताएका छन् । ब्राजिलमा हुने प्रतियोगिता सुरु हुन २ दिन बाँकी छँदा एक अन्तर्वार्तामा कुरा गर्दै अगुएरोले आफूले आफ्ना लागि भन्दा पनि सहकर्मी लिओनल मेस्सीका लागि अन्तर्राष्ट्रिय उपाधि जित्न चाहेको बताए ।

अगुएरोले मेस्सीले लामो समयदेखि अर्जेन्टिनाका लागि दीलोज्यान दिएर खेल्दै आएको र पटक–पटक सफलतानजिक पुगेर विक्षिप्त बनेको भन्दै यसपटक त्यसो हुन नदिने बताए । अगुएरोले यसपटक आफू मात्रै नभएर सबैजसो खेलाडी मेस्सीकै लागि भए पनि कोपा जित्न आतुर रहेको बताए ।

‘म मेरा लागि भन्दा मेस्सीका लागि कोपा अमेरिका जित्न बढी उत्साहित छु,’ अगुएरोले भनेका छन्, ‘किनभने, उनी लामो समयदेखि देशका लागि खेलिरहेका छन् । र, पटक–पटक विक्षिप्त बन्दै आएका छन् ।’

अगुएरोले आफूहरू कोपा जित्न सक्षम हुने पनि बताए । ‘हामीसँग अनुभवी र युवा खेलाडीको राम्रो संयोजन छ । मलाई विश्वास छ, यसपटक हामी च्याम्पियन बन्नेछौं,’ अगुएरोले थपे ।

शनिबार बिहानबाट सुरु हुने कोपा अमेरिकामा साब्कि उपविजेता अर्जेन्टिना समूह ‘बी’मा छ । सो समूहमा उसले कोलम्बिया, पराग्वे र कतारको सामना गर्नेछ ।

अर्जेन्टिना यसअघि भएको संस्करणमा फाइनलमा पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो । मेस्सीले आफ्नो नेतृत्वमा देशका लागि ठूला उपाधि जित्न नसक्दा अर्जेन्टिनाभित्रै उनको चर्को आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ०४:५४
Loading...