रिभाल्डोका नजरमा यी हुन् बार्सिलोनामा ‘मेस्सीको स्थान लिन सक्ने’ खेलाडी

एजेन्सी, जेठ २९
१५ वर्षदेखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका अर्जेन्टिन्नी फरवार्ड लिओनल मेस्सी चाँडै ३२ वर्ष पुग्दैछन् । क्लबका सर्वाधिक सफल र कीर्तिमानी मेस्सीको बढ्दो उमेरलाई ख्याल गर्दै पछिल्लो समय क्लबमा उनको स्थान लिनसक्ने युवा खेलाडीको चर्चा हुन थालेको छ ।

बार्सिलोनाले मेस्सीले निकट भविष्यमा क्लब छाड्न सक्ने वा सन्यास लिने कुरालाई ध्यान दिँदै मेस्सीपछि के गर्ने भन्नेबारे सोच्न थालिसकेको छ ।

यसैक्रममा बार्सिलोनाका लिजेन्ड ब्राजिलियन खेलाडी रिभाल्डोले बार्सिलोनामा मेस्सीको उत्तराधिकारी बन्न सक्ने खेलाडीको नाम लिएका छन् । ब्राजिलियन मिडियासँग बोल्दै रिभाल्डोले बार्सिलोनाका लागि दुई विकल्प राखेका छन् ।

एक विकल्पमा उनले तत्कालका लागि बार्सिलोनाले पूर्वखेलाडी नेइमार भित्र्याए ५ वर्षलाई समस्या नहुने बताए । ‘मेरो हिसाबमा तत्कालका लागि उनीहरूले नेइमारलाई फर्काउँदा पनि हालको समस्या हट्छ । उनीहरूलाई च्याम्पियन्स लिग जित्न एकजना गोलकर्ता खेलाडी आवश्यक छ,’ रिभाल्डोले भने ।

उनले अघि थपे, ‘उनीहरूले नेइमार फर्काउन्छन् वा फर्काउँदैनन्, त्यो मलाई थाहा छैन । तर, यतिबेला उनीहरूका लागि मेस्सीपछिको विकल्प नेइमार हुन सक्छन् ।’

रिभाल्डोले यदि बार्सिलोनाले दीर्घकालीन योजना बनाउँछ र क्लबको भविष्यबारे सोच्छ भने मेस्सीको उत्तराधिकारीका रूपमा फ्रेन्च खेलाडी केलियन एमबाप्पे सबैभन्दा उत्तम विकल्प हुने बताए । उनले भने–

‘मेरो विचारमा बार्सिलोना पछिसम्मका लागि गोलकर्ता खेलाडी सुरक्षित गर्न चाहन्छ भने एमबाप्पेभन्दा सही अरू विकल्प छैन । किनभने, उनी भर्खर २० भएका भए । र, उनी प्रशस्तै गोल गर्न सक्छन् । भविष्यमा बार्सिलोनामा यदि कुनै खेलाडीले मेस्सीको अभाव टार्न सक्छन् भने उनी एमबाप्पे मात्रै हुन् ।’

रिभाल्डोले यो बताएका छन् कि, बार्सिलोना एमबाप्पेका लागि बढी रकम खर्चिन पछि हट्नुहुँदैन । ‘अहिलेको सरुवा बजार धेरै ठूलो भइसक्यो । यहाँ समान्य खेलाडीको मूल्य पनि १०० मिलियन आसपास हुँदैछ । बार्सिलोनाले नेइमारलाई २२२ मिलियनमा बेच्छ भने २० वर्षका गोल मेसिन खेलाडीका लागि त्योभन्दा बढी बजेट किन खर्चिंदैन ?,’ रिभाल्डोले भने ।

रिभाल्डोले यो पनि बताएका छन् कि, यदि बार्सिलोनाले नेइमार र एमबाप्पेमध्ये एक खेलाडी अनुबन्ध गर्न नसके उसका अबका सिजन थप कठिन हुनेछन् । ‘यदि बार्सिलोनाले नेइमार वा एमबाप्पेमध्ये एक खेलाडी भित्र्याउन सकेन भने उसका आगामी वर्ष झनै कठिन हुने देख्छु,’ रिभाल्डोले भने ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १५:५७
Loading...