रियलको जर्सी लगाएपछि जोभिकले भने– ‘म सपनाको क्लबमा आइपुगें’

एजेन्सी, जेठ २९
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना अनुबन्धित नयाँ खेलाडी लुका जोभिकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । उसले आज बुधबार घरेलु रंगशाला सान्टियागो बेर्नाबेउमा पूर्वघोषित कार्यक्रमअनुसार जोभिकलाई रियलको सेतो जर्सीमा सार्वजनिक गरेको हो ।

पहिलो चरणमा मेडिकल जाँच पास गरेपछि जोभिकलाई घरेलु दर्शकमाझ क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले क्लबको जर्सी दिएर सार्वजनिक गरेका थिए । त्यसपछि जोभिक र अध्यक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएर पत्रकार सम्मेलनमा सरिक भएका थिए ।

पत्रकार सम्मेलनमा सहभागी हुँदै जोभिकले आफ्ना योजना र करिअरबारे धारणा राखेका थिए । उनले आफू नयाँ उडान भर्न रियल आएको उल्लेख गर्दै क्लबका लागि आफूले सबथोक दिने बताए । ‘म यहाँ नयाँ उडान भर्न आएको हुँ । क्लबका लागि म सबथोक दिनेछु,’ जोभिकले भने ।

जोभिकले रियलमा अनुबन्ध भएको दिन आफ्नो करिअरकै सबैभन्दा खुसीको दिन भएको पनि बताए । ‘आजको दिन मेरो करिअरकै सबैभन्दा उज्यालो दिन हो, आज यदि संसारमा कोही सबैभन्दा खुसी मानिस छ भने त्यो म हुँ,’ उनले भने ।

जोभिकले रियल आफ्नो सपनाको क्लब रहेको पनि बताए । ‘जतिबेला म सानो थिएँ, रियलको जर्सी सिरानीमा राखेर सुत्थें । त्यो मलाई मेरा साथीका बुबाले दिनुभएको थियो,’ जोभिकले भने, ‘रियल मेरो सपनाको क्लब हो ।’

पत्रकार सम्मेलनमा जोभिकलाई रियलमा अनुबन्ध हुनुअघि बार्सिलोना जाने चर्चाबारे पनि सोधिएको थियो । जसमा उनले कूटनीतिक उत्तर दिए । ‘बाहिर के–के हल्ला थिए, मलाई थाहा छैन । म रियल आउन चाहन्थें । र, आएँ । म यहाँ जीवनका सुनौला वर्ष बिताउन चाहन्छु,’ उनले भने ।

जोभिकले क्लबलाई उपाधि जिताउन शतप्रतिशत योगदान दिने बताए । ‘रियल संसारकै उत्कृष्ट क्लब हो । यसले सफलतै सफलताको इतिहास बोकेको छ । अब म पनि यो इतिहासको हिस्सेदार बन्न चाहन्छु,’ उनले मुस्कुराउँदै भने ।

जोभिकले रियलका समर्थकबाट आफूले प्रशस्तै माया पाउने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, यहाँका फ्यानहरूले मलाई धेरै माया गर्नुहुनेछ,’ जोभिकले थपे ।

२१ वर्षीय सर्बियन युवा फरवार्ड जोभिकलाई रियलले जर्मन क्लब फ्रान्कफुर्टबाट ७० मिलियन युरोमा यसै साता मात्र अनुबन्ध गरेको थियो । रियलले भित्र्याउनुभअघि जोभिक भित्र्याउन बार्सिलोना हात धोएर लागे पनि रियलले बाजी मारेको थियो ।

आज सर्वाजनिक गर्दा जोभिकलाई जर्सी नम्बर भने दिइएन । क्लबका केही खेलाडी बेच्ने तयारी रहेकाले रियलले सरुवा बजारको अन्तिम समयमा मात्रै जोभिकलाई जर्सी दिनेछ । यदि रियलले ग्यारेथ बेल बेचेको खण्डमा जोभिकले उनको जर्सी पाउने सम्भावना छ ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १४:५८
Loading...