हाजार्ड भोलि सार्वजनिक हुँदै, रोनाल्डोलाई भन्दा भव्य स्वागतको तयारी !

एजेन्सी, जेठ २९
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना अनुबन्धित नयाँ खेलाडी इडेन हाजार्डलाई भोलि बिहीबार सार्वजनिक गर्दैछ । क्लबले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार घरेलु रंगशालामा हाजार्डलाई सार्वजनिक गर्ने जनाएको छ ।

रियलले आज लुका जोभिकलाई सार्वजनिक गरेपछि विज्ञप्ति निकाल्दै अर्को दिन हाजार्ड सार्वजनिक गर्ने घोषणा गरेको हो ।

हाजार्डलाई रियलले यसै साता इंग्लिस क्लब चेल्सीबाट अनुबन्ध गरेको थियो । रियलले हाजार्डलाई महत्त्वकांक्षी योजनासाथ अनुबन्ध गरेको छ ।

बिहीबार सान्टियागो बेर्नाबेउमा बेल्जियन खेलाडीलाई सार्वजनिक गर्दा रियलले भव्य स्वागत दिने तयारी गरेको स्पेनिस मिडियाले जनाएका छन् । उसले आफ्ना पूर्वस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दिएको भन्दा पनि भव्य स्वागत हाजार्डलाई दिने तयारी गरेको बताइएको छ ।

रियलले सन् २००९ मा रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट विश्वकीर्तमानी ८० मिलियन पाउन्डमा अनुबन्ध गर्दा भव्य स्वागत गरको थियो । त्यस्तो स्वागत हालसम्म रियलका कुनै पनि नयाँ खेलाडीले पाएका छैनन् । त्यसबेला रोनाल्डोलाई स्वागत गर्न रियलको रंगशालामा ७५ हजार घरेलु दर्शक उपस्थिति भएका थिए ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १४:०९
Loading...