‘बालोन डि‘ओर जित्न गोलले मात्रै पुग्दैन, विजेता बन्नुपर्छ’

एजेन्सी, जेठ २९
सन् २०१९ को बालोन डि‘ओर कसले जित्ला भन्नेमा अहिले चर्को भविष्यवाणी र अड्कलबाजी जारी छ । २०१९ सकिन अझै आधा समय बाँकी रहे पनि प्रारम्भिक अवस्थाबाट खेलाडी, फुटबलकर्मीहरूले यसबारे आ–आफ्ना धारणा दिइरहेका छन् ।

यसैक्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक तथा हाल फुटबल विशेषज्ञका रूपमा काम गरिरहेका जोसे मोउरिन्होले बालोन डि‘ओरको सम्भावित विजेताबारे बोल्न अझै केही दिन कुर्नुपर्ने बताएका छन् ।

बुधबार एक टिभी शोमा बोल्दै मोउरिन्होले बालोन डि‘ओर खेलाडीका व्यक्तिगत प्रदर्शनलाई हेरेर दिइने भएपनि गोल संख्या मात्रै निर्णायक नहुने बताए । उनले व्यक्तिगत रूपमा राम्रो प्रदर्शनसँगै उपाधि पनि महत्त्वपूर्ण पक्ष हुने बताए ।

‘यो व्यक्तिगत प्रदर्शनलाई आधार मानेर दिइने अवार्ड हो । तर, गोल संख्या मात्रै सबथोक हुँदैन,’ मोउरिन्होले भने, ‘बालोन डि‘ओर जित्न च्याम्पियन बन्नुपर्छ, ठूला खेल र प्रतियोगिता जित्नुपर्छ । गत वर्ष मोड्रिक (लुका मोड्रिक) ले कसरी जिते त्यो उदाहरण छ ।’

‘बार्सिलोनाका मेस्सी र लिभरपुलका भर्जिल भान डाइकमा कसले जित्न सक्छ’ भनेर सोधेको प्रश्नमा मोउरिन्होले भने, ‘मेस्सी अस्तिसम्म एक्ला दाबेदारजस्तै थिए । तर, बार्सिलोना च्याम्पियन्स लिगमा हारेपछि कहानी बदलियो,’ मोउरिन्होले भने, ‘यहाँसम्मको अवस्थामा म मेस्सीलाई प्रमुख दाबेदार मान्दिनँ । उनीभन्दा भान डाइक निकै अघि छन् । किनभने, उनी उच्च प्रदर्शनसहित च्याम्पियन्स लिगका विजेता हुन् ।’

तर, यदि मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताए उनले बालोन डि‘ओर जित्नेमा कुनै शंका नरहने बताए । ‘मेस्सी यसै साताबाट कोपा अमेरिका खेल्दैछन् । यदि उनले देशलाई उपाधि जिताउन योगदान दिए भने बालोन डि‘ओर मात्रै नभएर सबै व्यक्तिगत अवार्ड उनले जित्छन्,’ मोउरिन्होले थपे ।

तर, यदि मेस्सी अर्जेन्टिनालाई उपाधि जिताउन असफल भए भान डाइकसँगै पोर्चुगलका बर्नान्डो सिल्भा र क्रिस्टियानो रोनाल्डो अगाडि आउने बताए । ‘मेरो विचारमा कोपा अमेरिकापछि बालोन डि‘ओरको स्पष्ट चित्र अगाडि आउँछ । यदि अर्जेन्टिना पराजित भयो भने भान डाइक र क्रिस्टियानोबीच प्रतिस्पर्धा हुन्छ ।’

मोउरिन्होले अहिले चर्चा नभए पनि रोनाल्डो मेस्सीजत्तिकै दाबेदार रहेको बताए । फरक लिगबाट दुई उपाधि जित्नु र अन्तर्राष्ट्रिय उपाधि जित्नु सामान्य कुरा नभएको उनले बताए ।

‘रोनाल्डोले फरक लिगबाट दुई उपाधि जिते, देशलाई नेसन्स लिग जिताए । उनले यी सबैमा उच्च प्रदर्शन गरे,’ मोउरिन्होले भने, ‘तर, अहिलेसम्म मेस्सीसँग ५१ गोलबाहेक उपाधिका नाममा ला लिगा मात्रै छ, बालोन डि‘ओर जित्न यतिले पुग्दैन ।’

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार ०६:४४
Loading...