एजेन्सी, जेठ २९
चर्चित अन्तर्राष्ट्रिय ग्यागजिन ‘फर्ब्स’ ले सन् २०१८ मा सर्वाधिक कमाइ गर्ने १०० खेलाडीको सूची सार्वजनिक गरेको छ । सो पत्रिकाले मंगलबार औपचारिक रूपमा जारी गरेको नयाँ सूचीमा खेल विधातर्फ स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी पहिलो नम्बरमा छन् ।
‘फर्ब्स’को सूचीमा मेस्सी पहिलोपटक पहिलो नम्बरमा परेका हुन् । यसअघि उनी बढीमा दोस्रोमा मात्रै रहँदै आएका थिए । गत वर्ष सर्वाधिक कमाउनेको सूचीमा इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो थिए ।
बार्सिलोनाले मेस्सीको सेवा–सुविधा बढाउनुका साथै इन्डोरसमेन्ट आम्दानीसमेत बढेकाले मेस्सी यसपटक सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका हुन् । उनले सन् २०१८ मा सबैखाले गरेर कूल १२७ मिलियन अमेरिकन डलर आम्दानी गरे ।
मेस्सीपछि दोस्रो नम्बरमा रोनाल्डो छन् । सन् २०१८ मा उनले सबैखाले गरेर कूल १०९ मिलियन अमेरिन डलर कमाए । गत वर्ष उनी पहिलो नम्बरमा रहेका थिए ।
तेस्रो नम्बरमा फ्रेन्च क्लब पिएसीका ब्राजिलियन स्टार नेइमार छन् । उनले कूल १०५ अमेरिकन डलर कमाइ गरेका छन् ।
‘फर्ब्स’को टप–३ सूचीमा सबै फुटबल खेलाडी छन् । त्यसपछि मात्रै अन्य विधाका खेलाडी रहेका छन् ।
टप–१० कमाइ गर्ने खेलाडी (रकम अमेकिन डलर) :
- लिओनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना) – १२७ मिलियन
- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस) – १०९ मिलियन
- नेइमार (ब्राजिल, पिएसजी) – १०५ मिलियन
- क्यानेलो अल्भारेस, बक्सर (मेक्सिको) – ९४ मिलियन
- रोजर फेडेरर, टेनिस (स्वीट्जरल्यान्ड) – ९३.४ मिलियन
- रसेल विल्सन, फुटबल (अमेरिका) ८९.५ मिलियन
- आरोन डोडगर्स, फुटबल (अमेरिका) – ८९.३ मिलियन
- लेब्रोन जेम्स, बास्केटबल (अमेरिका) – ८९ मिलियन
- स्टेफेन करी, बास्केटबल (अमेरिका) – ७९.८ मिलियन
- केभिन डुरान्ट, बास्केटबल (अमेरिका) – ६५.४ मिलियन