इस्टोनियाको पोस्टमा जर्मनीले हान्यो ८ गोल !

काठमाडौं, जेठ २८
युरो कप छनौट खेलअन्तर्गत गत राति भएको खेलमा जर्मनीले फराकिलो जित निकालेको छ । आफ्नो घरमा भएको खेलमा जर्मनीले पाहुना टोली इस्टोनियालाई ८–० को अन्तरले स्तब्ध बनायो ।

जर्मनीलाई जिताउन मार्को रिउस र सर्जी जिनाब्रीले २–२ गोल गरे । त्यसैगरी, लियोन गोरेट्जा, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेले १–१ गोल गरे ।

सुरुबाटै खेल एकपक्षीय बनाएको जर्मनीले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल हानेको थियो । उसका लागि खेलको १०औं मिनेटमा रिउसले पहिलो गोल गरे । त्यससपछि १७औं मिनेटमा जिनाब्रीले गोल गरे । २०औं मिनेटमा गोरेट्जाले गोल गरेपछि जर्मनी सहज अग्रतातर्फ अघि बढ्यो ।

त्यसपछि फेरि खेलको २६औं मिनेटमा गुन्डोगानले पेनाल्टीबाट गोल गरे भने ३७औं मिनेटमा मार्को रिउसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० को अग्रता दिलाए ।

पहिलो हाफमा गोलको वर्षा गरेको जर्मनी दोस्रो हाफमा पनि रोकिएन । उसका लागि खेलको ६२औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा ७९औं मिनेटमा वार्नरले गोल गर्दै घरेलु टोलीलाई ७–० को अग्रता दिलाए ।

त्यससपछि ८८औं मिनेटमा सानेले गोल गरेपछि जर्मनीले ८–० ले फराकिलो जित निकाल्यो ।

यो जितसँगै जर्मनीले समूह ‘सी’ मा ३ खेलबाट शतप्रतिशत अंक जोडेर खातामा ९ अंक बनाएको छ । ऊ दोस्रो स्थानमा छ ।

सो समूहको सिरानमा रहेको नर्दन आयरल्यान्डले बेलारुसलाई १–० ले पन्छाएर ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा ओगटेको छ ।

प्रकाशित मिति June 12, 2019
Loading...