इटालीलाई स्तब्ध बनाउँदै युक्रेन विश्वकपको फाइनलमा !

काठमाडौं, जेठ २८
युक्रेनको युवा टोली फिफा यु–२० विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार मंगलबार राति भएको सेमिफाइनल खेलमा उसले प्रमुख उपाधि दाबेदार टिम इटालीमाथि १–० जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

पोल्यान्डमा जारी प्रतियोगितामा इटालीलाई उपाधिका लागि सबैभन्दा बलियो टिम मानिएको थियो । तर, सेमिफाइनलमा उसलाई अन्तिम समयमा भिएआरले साथ नदिँदा नतिजा युक्रेनलाई सुम्पियो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ६५औं मिनेटमा युक्रेनका लागि सेरी बुलेस्टाले गोल गर्दै टिमलाई १–० को अग्रता दिए ।

त्यसपछि बराबरी गोलको खोजीमा रहेको इटालीले ९० मिनेटछि थपिएको समयमा गोल गरेको थियो । तर, रेफ्रीले भिएआर प्रयोग गरी सो गोल दौरान विपक्षी खेलाडीमाथि फउल भएको भन्दै भएको गोल रद्द गरेपछि इटाली स्तब्ध बन्यो । बाँकी समयमा इटालीले गोल गर्न सकेन । र, खेल युक्रेनले जित्यो ।

अब युक्रेनले अर्को दिन इक्वेडर र साउथ कारियाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार १७:४१
Loading...