एजेन्सी, जेठ २९
स्पेनिस रियल मड्रिडले यस समरमा दुईजना प्रमुख खेलाडी लुका जोभिक र स्टार इडेन हाजार्ड अनुबन्ध गरिसकेको छ । उसले जर्मन क्लब फ्रान्कफुर्टबाट ७० मिलियन युरोमा २१ वर्षीय सर्बिन खेलाडी जोभिक भित्र्यायो भने इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा हाजार्ड भित्र्यायो ।
रियलको सरुवा बजार यतिमै सकिएको छैन । उसले अझै स्टार खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । आगामी सिजन सबै उपाधि कब्जा गर्ने योजनासहित रियलले अझै एक फरवार्ड र एक मिडफिल्डर अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
हाजार्डपछि रियलको अबको ध्यान मिडफिल्डर भित्र्याउनेमा केन्द्रित गर्ने भएको छ । स्पेनिस मिडियाका अनुसार रियल अहिले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र टोटनह्यामका क्रिस्टिएन एरिक्सनमध्ये एक खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेको छ ।
रियलका प्रशिक्षक जिनेदिन जिदानको योजनामा रियलको पहिलो रोजाइमा पोग्बा छन् । किनभने, यी दुवैजना फ्रान्सकै हुन् । र, जिदानले पोग्बालाई निकै मन पराउँछन् ।
यसै कारण पनि रियलले एरिक्सनभन्दा पहिला पोग्बालाई प्राथमिकतामा राखेको छ । तर, युनाइेटडले पोग्बाका लागि १०० मिलियनभन्दा बढी मूल्य तोक्ने देखिएपछि उसले विकल्पमा एक्सिनलाई राखेको छ ।
रियल हालको अवस्थामा पिएसजीका नेइमार र केलिएन एमबाप्पेबाहेक अन्य खेलाडीका लागि हाजार्डलाई खर्चेको भन्दा बढी मूल्य खर्चने पक्षमा देखिँदैन । पोग्बालाई भित्र्याउन इटालियन युभेन्टस समेत लागिपरेकाले रियल पोग्बाका लागि मूल्यमा प्रतिस्पर्धा गर्ने पक्षमा छैन ।
किनभने, उसले अझै पनि नेइमार र एमबाप्पेमध्ये एकजना खेलाडी भित्र्याउन चाहेको छ । त्यसका लागि उसलाई मोटो बजेट आवश्यक पर्छ ।
यता, रियलले फ्रेन्च क्लब लियोनबाट लेफ्ट ब्याक फर्लान मेन्डीसमेत भित्र्याउँदैछ । मेन्डी भित्र्याउने सम्झौतामा रियल नजिक पुगेको छ ।
प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार ०६:००